खेल

‘तिमीहरू राष्ट्रनायक’

जागरेभ – क्रोएसियाका सञ्चारमाध्यमले सानो राष्ट्र भए पनि विश्वकपमा हात पारेको ऐतिहासिक सफतापछि राष्ट्रिय फुटबल टोलीलाई ‘राष्ट्र नायक’ को संज्ञा दिएका छन्।

यद्यपि पहिलो पटक विश्वकपको फाइनल प्रवेश गर्दै इतिहास रचेको क्रोएसिया फाइनलमा भने आइतबार फ्रान्ससँग ४–२ गोलले पराजित भएको थियो।

‘धन्यवाद राष्ट्र नायक । तिमीहरूले हाम्रो सबै चाहाना पूरा गरिदियौ,’ कप्तान लुका मोडरिचले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि हात पारेको गोल्डेन बलसहितको तस्बिरका साथ स्पोट्सकी नोभोस्टीले पहिलो पेजमा उल्लेख गरेको छ, ‘तिमीहरू महान् छौ र हामीलाई तिमीहरूप्रति गर्व छ । तिमीहरूको नाम सधैं सुनौलो अक्षरमा लेखिनेछ।’

‘महान् खेलाडी । तिमीहरूले क्रोएसियालाई विश्वजगत्मा नयाँ उचाइमा पुर्यायौ । त्यसैले हामीलाई तिमीहरूप्रति गर्व छ,’ अर्को दैनिकी युटारान्जी लिस्टले उल्लेख गरेको छ।

त्यस्तै भिर्सेन्जी लिस्टले उल्लेख गरेको छ, ‘समग्र राष्ट्र नै यो सफलतामा रमाइरहेको छ । यो स्वर्णिम क्षण हो । हामो अर्थतन्त्र युरोपेली राष्ट्रमध्ये अत्यन्तै कमजोर छ । तर राष्ट्रिय टोलीले रूसमा हात पारेको सफलताले हाम्रो शिर ठाडो भएको छ।’

भिर्सेन्जी लिस्टले क्रोएसियाको सफलतामा प्रशिक्षक ज्लाट्को डालिच नायक भएको भन्दै उनको प्रशंसा गरेको छ । सोमबार राष्ट्रिय टोली स्वदेश फर्कंदा उनीहरूको स्वागतमा राजधानी जागरेभमा क्रोएसियाको चर्चित रातो र सेतो मिसिएको जर्सीमा करिब १ लाख समर्थक जम्मा हुने अनुमान गरिएको छ।

 

प्रकाशित: १ श्रावण २०७५ ०४:४१ मंगलबार

तिमीहरू राष्ट्रनायक