खेल

प्रतियोगिता यात्रामा केन सन्तुष्ट

मस्को – इङ्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा सेमिफाइनलसम्मको यात्रालाई प्रतिभावान् युवा पुस्ताको उदयको सुरुआतका रूपमा लिएर गौरव गर्नुपर्ने बताएका छन्।

२८ वर्षमा पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्दै गरेको इङ्ल्यान्डसामु बुधबार १९६६ यता पहिलो पटक फाइनल पुग्ने सम्भावना थियो । पहिलो हाफमा क्रोएसियामाथि १–० को अग्रता लिएपछि इङ्लिस समर्थकले आइतबार मस्कोको लुझनिकी रंगशालामा फ्रान्सविरुद्धको फाइनलमा आफ्नो टोलीले खेलेको कल्पना गर्न थालिसकेका थिए । तर लुझनिकीको माहोल बुधबार दोस्रो हाफमा इङ्ल्यान्डको पक्षमा रहेन।

क्रोएसियाले उत्कृष्ट पुनरागमन जनाउँदा अतिरिक्त समयसम्म संघर्ष गर्दै २–१ ले इङ्ल्यान्डलाई निराश पार्दै पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गर्याे। प्रतियोगितामा अहिलेसम्म सर्वाधिक ६ गोल गरेका केन आफैंले पहिलो हाफमा गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर पार्ने सुनौलो अवसर खेर फालेका थिए । तर रूसमा जारी विश्वकपमा सहभागी ३२ मध्ये खेलाडीको औसत उमेरमा तेस्रो युवा टोलीको भविष्य उज्ज्वल रहेको विश्वास व्यक्त गरे।

‘विश्वकपको यो अवस्थामा पुगेर पराजित हुँदा धेरै दुःख लाग्छ । तर पनि यहाँको अनुभवबाट धेरै आशावादी हुन सकिन्छ । दुई वर्षपछि युरोपियन च्याम्पियनसिप हुँदै छ । हामीले त्यहाँ आफ्नो क्षमता अझै अभिवृद्धि गरेर सुखद नतिजा ल्याउन सक्छौं । इङ्ल्यान्डको यो युवा पुस्ताको भविष्यसामु धेरै ठूला प्रतियोगिता छन्,’ केनले भने, ‘हामीले अर्को सेमिफाइनलका लागि अर्को २० वर्ष कुर्नुपर्ने छैन भन्ने प्रमाणित गरेका छौं । हामी फेरि पनि ठूला प्रतियोगिता जित्ने सपना पूरा गर्न प्रयास गर्नेछौं।’

दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आइसल्यान्डसँग पराजित हुँदै लज्जाजनक रूपबाट बाहिरिएको इङ्ल्यान्डले टोलीमा पुनर्संरचना गर्दै रूसमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । बुधबार लुझनिकीमा उपस्थित १०औं हजार इङ्लिस समर्थकले अन्तिम सिटी नबजेसम्म पनि सफलताको आशा मारेका थिएनन् । प्रतियोगिताअघिसम्म खासै आशा नगरिएको इङ्लिस टोलीले अपेक्षाविपरीत सनसनीपूर्ण प्रदर्शनका साथ सेमिफाइनलसम्मको यात्रा गर्दै अगाडि बढ्ने क्रममा समर्थकको आशा पनि बढ्दै गएको थियो।

इङ्लिस सञ्चारमाध्यमहरूले रूसमा जारी प्रतियोगितामा टिमले गरेको प्रदर्शनबाट पूरा देशलाई एकताको सूत्रमा गाँसेको आशयका समाचार छापेका थिए । यसै गरी पूर्वखेलाडीहरूले पनि सेमिफाइनलमा दुर्भाग्यजनक पराजय भोगे पनि वर्तमान टिमले भविष्यका लागि आशावादी बनाएको प्रतिक्रिया दिएका थिए।

‘यो प्रतियोगिताले फेरि एक पटक विश्व फुटबलमा हाम्रो देशको गौरव बढाएको छ । समर्थकलाई हामीले नयाँ खालको आशा दिन सफल भएका छौं । त्यसमा हामी टिमका सबै सदस्य गौरवान्वित छौं । उपाधि जित्नु हाम्रो महत्वाकांक्षी लक्ष्य थियो । हामी त्यसको निक्कै नजिक पनि पुगेका थियौं । अन्तिम समयमा त्यसमा चुक्दा पक्कै दुख लागेको छ । तर समग्रमा यो हाम्रा लागि सुखद प्रतियोगिता रह्यो,’ केनले थपे।

 

प्रकाशित: २९ असार २०७५ ०४:५४ शुक्रबार

प्रतियोगिता यात्रामा केन सन्तुष्ट