खेल

हायरोलाई निरन्तरता नदिने

मड्रिड (एपी) – स्पेनिस फुटबल संघले आइतबार अन्तरिम प्रशिक्षक फर्नान्डो हायरोलाई निरन्तरता नदिने जनाएको छ।

स्पेनले विश्वकप सुरु हुनु एक दिनअघि प्रमुख प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै खेलकुद निर्देशक हायरोलाई अन्तरिम प्रशिक्षकका रूपमा रूस पठाएको थियो। स्पेनिस फुटबल संघले राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहँदा आफूहरूलाई जानकारी नगराई रियाल मड्रिडको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेको भन्दै लोप्तेगीलाई बर्खास्त गरेको थियो। लोप्तेगीको नेतृत्वमा स्पेन लगातार २० खेलमा अपराजित रहँदै आएको थियो।

हायरोको प्रशिक्षणमा समूह ‘बी’ मा रहेको स्पेनले समूह चरणमा पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो भने इरानलाई पराजित गरेको थियो। अन्तिम १६ मा रूससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन प्रतियोगिताबाट बाहिरिएको थियो।

‘हामी फर्नान्डो हायरोलाई धन्यवाद दिन चाहान्छांै,’ स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबेल्सले भने, ‘हायरोले कठिन परिस्थतिमा टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाले।’

साथै स्पेनिस फुटबल संघले हायरोले खेलकुद निर्देशकको जिम्मेवारीमा फर्कन अस्वीकार गरेको बतायो।

प्रकाशित: २५ असार २०७५ ०५:५५ सोमबार

हायरोलाई निरन्तरता नदिने