खेल

ब्राजिलको रक्षापंक्ति तोड्न कठिन

काजान – बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले शुक्रबार हुने क्वार्टरफाइनलमा ब्राजिलको सामना गर्दा आफ्नो टोलीसँग उनीहरूको छैटौं विश्वकपको उपाधि सपना समाप्त पार्न कुनै रहस्यमय योजना नभएको प्रस्ट पारेका छन्। तर उनले बेल्जियमको सुनौलो पुस्ताको रूपमा हेरिएको अहिलेको टोलीलाई विश्व फुटबलमा आफ्नो गतिलो छाप छोड्ने यो नै अन्तिम अवसर भएकोमा टोली सजग रहेको बताए।

‘यो हाम्रा खेलाडीका लागि सपनाको खेल सरह हो,’ मार्टिनेजले भने। बेल्जियमले सोमबार जापानसँग २–० ले पछि परेको स्थिति उल्ट्याउँदै अन्ततः ३–२ को जितका साथ ब्राजिलसँगको क्वार्टरफाइनल भेट पक्का गरेको थियो। ‘ब्राजिलविरुद्धको खेलका लागि हामीसँग कुनै रहस्यमय योजना छैन। हामी उनीहरूको चुनौती सामना गर्न तयार छौं। हामी रक्षापंक्तिका साथै मध्य र अग्रपंक्तिमा पनि अब्बल छौं,’ मार्टिनेजले भने, ‘हाम्रो लक्ष्य अघिल्लो चरण प्रवेश हो र हामी त्यसमै केन्द्रित छौं।’

बेल्जियमका कप्तान इडेन हाजार्ड, मिडफिल्डर केभिन डी ब्रुयना र स्ट्राइकर रोमेलु लुकाकु ब्राजिलको रक्षापंक्तिलाई चुनौती दिन सक्षम छन्। लुकाकुले जारी प्रतियोगितामा ४ गोल गरिसकेका छन् र उनी उच्च गोलकर्ताको सूचीको दोस्रो स्थानमा छन्। ६ गोल गरेका इङ्ल्यान्डका कप्तान ह्यारी केन उच्च गोलकर्ताको सूचीको शीर्ष स्थानमा छन्। बेल्जियम रूसमा जारी विश्वकपमा हालसम्म सबैभन्दा बढी गोल गर्ने टोली हो। टोलीले हालसम्म १२ गोल गरेको छ भने ४ गोल खाएको छ।

विश्ववरीयताको तेस्रो स्थानमा रहेको बेल्जियम २०१४ को ब्राजिल विश्वकपमा क्वार्टरफाइनल प्रवेश गरेको थियो। तर अर्जेन्टिनालाई १–० को नतिजा सुम्पिएपछि बेल्जियमको यात्रा अन्तिम ८ मा टुङ्गिएको थियो। १९८६ मा सेमिफाइनलसम्म प्रवेश गर्नु नै बेल्जियमको हालसम्मको उपलब्धि हो। उक्त विश्वकपको सेमिफाइनलमा पनि बेल्जियम अर्जेन्टिनासँग २–० ले स्तब्ध भएको थियो। बेल्जियमले सेमिफाइनल खेल्दा टोलीका महत्वपूर्ण सदस्य रहेका फ्रायांक भर्काटुरेनले अहिले टोलीमा रहेका अधिकांश खेलाडी २०२२ को विश्वकपसम्म टोलीमा नहुने भएकाले यो पुस्तालाई रूस विश्वकप अन्तिम मौका भएको बताएका थिए। प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली भए पनि हरेक खेलमा सुदृढ प्रदर्शन गरिरहेको ब्राजिललाई पन्छाउन भने बेल्जियमलाई कठिन हुने निश्चित छ। समूहचरणको पहिलो खेलमा स्विट्जरल्यान्डविरुद्ध १–१ को बराबरी खेल्दा स्वाभाविक प्रदर्शन नगरेको भन्दै चर्को आलोचना खेपेको ब्राजिलले त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।

मेक्सिकोविरुद्ध २–० को नतिजा निकाल्दा एक गोल गरेर रोबर्टो फिर्मिनोलाई अवसर सिर्जना गरिदिँदै नेइमारले लयमा फर्किएको संकेत दिएका छन्। बेल्जियमविरुद्धको खेलमा नेइमारले थप सुधारिएको प्रदर्शन गर्ने अनुमान गरिएको छ। जारी प्रतियोगितामा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा एक गोल मात्र खाएको छ। थियागो सिल्भाको नेतृत्वमा रहेको ब्राजिली रक्षापंक्ति तोड्न बेल्जियमलाई कठिन हुनेछ। ब्राजिलले दुई पहेंलो कार्डका कारण प्रतिबन्धमा परेका मिडफिल्डर कासेमिरोको स्थानमा फर्नान्डिन्होलाई खेलाउने अनुमान गरिएको छ। त्यस्तै चोटका कारण मेक्सिकोविरुद्धको खेल गुमाएका मार्सेलो भने शुक्रबारको खेलमा फर्किन्छन्। बेल्जियमले जापानविरुद्ध दुई गोल खाँदा गरेको गल्ती दोहो-याएमा नेइमारले त्यसको फाइदा उठाउनेमा कुनै दुबिधा छैन तर जारी प्रतियोगितामा ब्राजिलको रक्षापंक्तिले सबैको ध्यान खिचिरहेको छ। ‘हामी अघि बढिरहेका छौं र यो त्यसको प्रमाण हो,’ मेक्सिकोविरुद्धको खेलपछि ब्राजिलका रक्षक सिल्भाले भनेका थिए, ‘यो उत्कृष्ट टोलीविरुद्धको कठिन खेल थियो। हाम्रो अग्रपंक्तिका साथै रक्षापंक्ति पनि अब्बल छ।’

प्रकाशित: २२ असार २०७५ ०२:३८ शुक्रबार

ब्राजिलको रक्षापंक्ति तोड्न कठिन