खेल

कोस्टा रिकाका प्रशिक्षक निकालिए

सान जोसे – कोस्टा रिका फुटबल संघले रूस विश्वकपमा निराशाजनक नतिजा ल्याएको भन्दै प्रशिक्षक ओस्कार रामिरेजसँगको सम्झौता रद्द गरिएको घोषणा गरेको छ। ‘ओस्कार रामिरेजले कोस्टा रिका राष्ट्रिय टोलीको प्रशिक्षणलाई निरन्तरता दिने छैनन्।

कोस्टा रिका फुटबल संघ र रामिरेजबीचको सम्झौता अन्त्य भएको छ,’ संघका अध्यक्ष रोडोल्फ भिल्लालोवोसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी क्षमतावान् प्रशिक्षक हुन् तर हामी उनीसँगको सम्झौता नवीकरण गर्नु उपयुत्त नहुने निस्कर्षमा पुगेका छौं। हामी उनले कोस्टा रिका फुटबलका लागि दिएको योगदानका लागि धन्यवाद दिन चाहन्छौं ।’

विश्वकपको समूह ‘ई’ मा रहेको कोस्टारिका समूहचरणबाटै बाहिरएको थियो। कोस्टा रिका पहिलो खेलमा सर्बियासँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो। अन्तिम खेलमा भने कोस्टा रिकाले स्विट्जरल्यान्डलाई २–२ को बराबरीमा रोकेको थियो।

२०१५ मा तत्कालीन प्रशिक्षक पाउलो वान्चोपे पानामामा भएको कुटपिटको घटनामा मुछिएसँगै राजीनामा दिएपछि रामिरेजले कोस्टा रिकाको प्रशिक्षण सम्हालेका थिए।

प्रकाशित: २२ असार २०७५ ०२:११ शुक्रबार

कोस्टा रिकाका प्रशिक्षक निकालिए