खेल

म्याराडोनाको इच्छाले साम्पोलीलाई दबाब

ब्युनस आयर्स – डिएगो म्याराडोनाले बिनापारिश्रमिक पुनः अर्जेन्टिनाको प्रशिक्षक बन्ने इच्छा देखाएपछि जर्ज साम्पोलीमाथि दबाब बढेको छ।

रूस विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि प्रशिक्षक साम्पोलीलाई पद छाड्न दबाब बढेको थियो। टेलिभिजन कार्यक्रम ‘ह्यान्ड अफ गड’ मा बोल्दै २००८ देखि २०१० सम्म अर्जेन्टिनालाई प्रशिक्षण दिएका ५७ वर्षे म्याराडोनाले राष्ट्रिय टोलीको वर्तमान स्थिति देखेर पीडा भएको बताएका थिए।

‘म राष्ट्रिय टोलीलाई पुनः नेतृत्व दिन चाहन्छु। त्यो पनि बिनापारिश्रमिक। पुनरागमनमा मेरो कुनै माग हुनेछैन,’ टेलेसुर टेलिभिजनको एक कार्यक्रममा म्याराडोनाले भनेका छन्।

शनिबार फ्रान्सविरुद्ध ४–३ ले पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पोली चर्को दबाबमा छन्। तथापि उनी अहिल्यै पद छाड्ने मनस्थितिमा देखिएका छैनन्।

साम्पोलीको सम्झौता सकिन अझै चार वर्ष बाँकी छ। त्यसैले अर्जेन्टिना फुटबल संघले उनलाई बर्खास्त गर्न १ करोड ५० लाख अमेरिकी डलर तिर्नुपर्छ। ‘आशा गरौं भगवान्ले मलाई पुनः टोली सम्हाल्ने सामथ्र्य प्रदान गर्नेछन्,’ म्याराडोनाले थपे, ‘म ५७ वर्षको भएँ। र म आफ्नो देश त्यस्तो टोलीसँग पराजित भएको हेरिरहनुपरेको छ, जुन विश्वको उत्कृष्टभित्र पर्दैन। हामीले धेरै दुख गरेर बनाएको त्यो उचाइ सजिलै ध्वस्त भएको हेर्दा असह्य पीडा हुन्छ।’

१९८६ मा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा म्याराडोना टोलीका महत्वपूर्ण खेलाडी थिए। खेलाडीका रूपमा ‘महान्’ को उपमा पाएका म्याराडोनाको प्रशिक्षण जीवन भने सोचेजस्तो हुन सकेन। उनको प्रशिक्षणमा अर्जेन्टिना बोलिभियासँग ६–१ ले पराजित भएको थियो।

प्रकाशित: १९ असार २०७५ २२:३२ मंगलबार

म्याराडोनाको इच्छाले साम्पोलीलाई दबाब