खेल

कोलम्बिया खतरनाक : फाबियान्स्की

लन्डन – पोल्यान्डका गोलकिपर लुकास फाबियान्स्कीले कोलम्बिया असाधारण टिम भएको बताउँदै उनीहरूले खेलमा नियन्त्रण राख्न सके विश्वका सबै विपक्षीलाई रुवाउने बताएका छन्।

काजानमा कोलम्बियासँग पूर्ण रूपमा निरीह हुँदै ३–० को नतिजा सुम्पिएको स्मरण गर्दै फाबियान्स्कीले जोसे पेकरम्यानको टोलीलाई ‘नकआउट चरणमा छल्नै पर्ने’ विपक्षीका रूपमा बयान गरेका छन् । मिडफिल्डमा कोलम्बिया निक्कै प्रभावकारी भएको भन्दै उनले इङ्ल्यान्डको भविष्य दुःखद हुन सक्ने बताए।

समूहचरणको अन्तिम खेलमा बेल्जियमसँग पराजित भएपछि उपविजेतामा सीमित भएको इङ्ल्यान्डले अन्तिम १६ अन्तर्गतको खेलमा मंगलबार मस्कोमा कोलम्बियाविरुद्ध खेल्नेछ । गारेथ साउथगेटको इङ्ल्यान्डलाई टाई–सिटमा भाग्यमानी मान्ने धेरै भए पनि फाबियान्स्कीले भने दृश्य फरक हुन सक्ने विचार राखे।

‘मेरो विचारमा उनीहरुले जापानसँग खेल्न पाएको भए फाइदामा हुन्थे,’ फाबियान्स्कीले भने, ‘कोलम्बिया धेरै राम्रो टिम छ। उनीहरू धेरै खतरनाक छन् । पहिलो खेलमा उनीहरू जापानसँग पराजित भए । तर मेरो विचारमा विश्वकपको यो अवस्थामा आइपुग्दा छल्नुपर्ने कुनै टिम छ भने त्यो कोलम्बिया हो।’

सामारामा सेनेगलमाथि १–० को जित हासिल गर्दा घाइते भएका हामेस रोडरिग्वेजको उपस्थिति इङ्ल्यान्डविरुद्ध दुबिधामा छ । तर फाबियान्स्कीले कोलम्बियाली टिममा भएका हुँवा क्विन्टेरो र राडामेल फाल्काओजस्ता बरदान पाएका खेलाडीको चर्चा गरे।

 

प्रकाशित: १६ असार २०७५ २०:१९ शनिबार

कोलम्बिया खतरनाक फाबियान्स्की