खेल

जर्मनी बाहिरिएपछि लोउलाई दबाब

भाटुटिन्की – साबिक विजेता जर्मनी बिहीबार घर फर्किएको छ । विश्वकपको समूहचरणबाटै घर फर्किएको जर्मन टोलीमाथि प्रतियोगिताबाट बाहिरिनुका कारण सोधिनेमा कुनै शंका छैन र प्रशिक्षक जोचिम लोउ त्यसको जबाफ दिन चरम दबाबमा हुनेछन्।

प्रतियोगिताकै दाबेदार मानिएको जर्मनी बुधबार समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो । जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाट माथि उठ्न नसकेको यो पहिलो पटक हो । ‘प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनुमा हामी सबैको गल्ती छ,’ हारको जिम्मेवारी सम्पूर्ण खेलाडी, प्रशिक्षक जोचिम लोउ र टिम व्यवस्थापक ओलिभर बियरहोफले लिनुपर्ने भन्दै रक्षक मेट ह्युमेल्सले भने।

१२ वर्ष प्रशिक्षणमा रहँदा जर्मनीलाई सबै विश्व फुटबलमा दाबेदार राष्ट्रको रूपमा उभ्याउँदा लोउले २०१४ मा सम्पन्न ब्राजिल विश्वकपको उपाधि दिलाएका थिए । तर रूस विश्वकपमा आफ्नो रणनीति पूर्ण रुपमा असफल हुनु र विगतको प्रदर्शनका आधारमा पुराना खेलाडीमाथि गरेको विश्वास पनि खेर गएकाले लोउले केही दिनमै आफ्नो भविष्यबारे निर्णय लिने अनुमान गरिएको छ।

प्रतियोगिताको पहिलो खेलमा मेक्सिकोसँग १–० ले स्तब्ध भएपछि लोउले गरेको खेलाडी छनोट र रणनीतिको चर्को अलोचना भएको थियो । रूस विश्वकपकमा जर्मनीका कुनै पनि खेलाडीले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । टिम व्यवस्थापक बियरहोफ टोली प्रशिक्षणका लागि मस्कोबाट निकै टाढाको भाटुटिन्की छनोट गरेको भन्दै प्रतियोगिताअघि खेलाडीहरूले असन्तुष्टि पोखेका थिए।

‘भाटुटिन्कीमा अभ्यास गरिरहँदा हामीलाई आफूहरूलाई विश्वकपमा खेलिरहेको अनुभूति हुँदैनथ्यो,’ जर्मनीका कप्तान म्यानुअल नुयुरले भनेका थिए । त्यस्तै इन्जुरी समयमा स्विडेनविरुद्ध २–१ को नतिजा निकाल्दा अन्तिम १६ मा पुग्ने सम्भावना ब्यूँताएपछि विपक्षी प्रशिक्षक याने एन्डरसनमाथि जर्मनीका दुई अधिकारीले गरेको व्यवहारका कारण उनीहरू निलम्बनमा पर्नु पनि जर्मनीका लागि लाजमर्दो बन्यो।

‘हामी स्तब्ध भएका छौं,’ २०१४ को विश्वकप जित्दा प्रभावशाली प्रदर्शन गरेका जर्मनीका स्ट्राइकर थोमस मुलरले भने । रूस विश्वकपमा भने उनको प्रदर्शन बिर्सनलायक रह्यो । तीनवटै खेलमा अवसर पाए पनि उनले गोलको खाता खोल्न सकेनन्।

गत वर्ष रूसमै सम्पन्न अन्तरमहादेशिय कपमा कम अनुभवी टोली उतार्दै उपाधि जिताएका लोउले विश्वकपमा सोही छवि दोहोर्याउने अनुमान गरिएको थियो । उक्त प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा लोउले टिमो वेर्नेर र जोसुआ किमिचलाई मात्र सिनियर टोलीमा स्थान दिएका थिए।

लोउले गत महिना मात्र जर्मन फुटबल संघ (डिएफबी) सँगको २०२२ सम्मको सम्झौता गरेका थिए । तर रूस विश्वकपको स्तब्धपूर्ण बहिर्गमनपछि उनीमाथि पद छाड्न दबाब बढेको छ।

५८ वर्षे लोउ पदबाट हटेमा उनको बहिर्गमन कारण मुलर, हुमेल्स, सामी खेदिरा, मेसुट ओजिल र टोनी क्रुसजस्ता पुराना खेलाडीलाई अहिलेको भन्दा विगतको प्रदर्शनका आधारमा गरेको विश्वास प्रमुख बन्न सक्छ।

युरोपेली छनोटमा १० खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको जर्मनीले विश्वकपअघिका ६ अभ्यास खेल मध्ये एक खेलमा मात्र जित हात पारेको थियो । ‘हामीले पछिल्लो पटक २०१४ मा राम्रो प्रदर्शन गरेका थियौं,’ ह्युमेल्सले अक्टोबरमा अजरबैजानविरुद्ध हात पारेको ५–१ को जिततर्फ संकेत गरेका थिए।

 

प्रकाशित: १५ असार २०७५ ०४:५९ शुक्रबार

जर्मनी बाहिरिएपछि लोउलाई दबाब