खेल

कोलम्बिया र सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए

रूस – रूसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले समूह एच का कोलम्बिया र सेनेगलको खेल जारी छ।

समारा एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफको समाप्तीसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। पहिलो हाफमा सेनेगलले कोलम्बियालाई दबाबमा राखेपनि गोल गर्न सकेन्।

खेलको १७ औं मिनेटमा कोलम्बियाका डभिन्सन सान्चेजले सेनेगलका साडियो मानेलाई डिबक्स भित्र लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए। तर कोलम्बियाका खेलाडीले अपिल गरेपछि रेफ्रिले भिडियो असिस्टेन्स रेफ्रि (भिएआर) को सहायता लिएका थिए। भिएआरमार्फत पेनाल्टी नदेखिएपछि कोलम्बिया भाग्यमानी सावित भयो।

दुवै टोलीले गोल गर्ने केहि मुभ बनाएपनि सदुपयोग भएन। जापानसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताको सुरुआत गरेको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण प्रवेश सम्भावना ब्युँताएको थियो। कोलम्बियालाई अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन।

बराबरीमा सीमित भए टोलीले अघिल्लो चरण प्रवेशका लागि समूहको अर्को खेलमा पोल्यान्डले जापानमाथि फराकिलो जित हात पारेको देख्न पाउनुपर्नेछ।

त्यस्तै १६ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा जापानसँग अंक बाँढ्न बाध्य भएको थियो। सेनेगललाई नकआउट चरण प्रवेशका लागि बराबरी नतिजा पर्याप्त हुनेछ।

प्रकाशित: १४ असार २०७५ १४:५३ बिहीबार

कोलम्बिया सेनेगल पहिलो हाफमा बराबरीमा रोकिए