खेल

तीन खेलाडीलाई कारबाही

मस्को – खेलभावना विपरीत गोलको खुसी मनाएको भन्दै फिफाले स्विट्जरल्यान्डका तीन खेलाडीलाई जरिवाना गरेको छ। सर्बियाविरुद्धको खेलमा ग्रानिट जाका र जर्दान साकिरीले अल्बानियाको झन्डाको आकृति आउने गरी सर्बियाका दर्शकलाई देखाएका थिए।

स्विट्जरल्यान्डको जितमा गोल गरेका ग्रानिट जाका र साकिरीले खुसीयाली मनाउने क्रममा दुई हातले चिलको आकार बनाएका थिए । जसले सर्बिया र अल्बानियाबीचको द्वन्द्व झल्काएको थियो । सर्बिया र अल्बानियाबीच कोसोभो क्षेत्रलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ । साकिरी र जाका दुवैको पुर्खा कोसोभोका हुन्।

उक्त गतिविधि खेल भावनाविपरीत भएको भन्दै उनीहरूलाई फिफाको अनुशासन समितिले खेलाडी जाका र साकिरीलाई चेतावनी दिँदै दश हजार स्विस फ्रांक (दश हजार एक सय अमेरिकी डलर) जरिवाना लगाएको हो।

साथै फिफाले स्विट्जरल्यान्डका कप्तान स्टेफन लेक्सतटाइनरलाई पनि चेतावनी दिँदै पाँच हजार स्विस फ्रांक (पाँच हजार पचास अमेरिकी डलर) जरिवाना गरेको हो । शुक्रबार स्विट्जरल्यान्डका खेलाडीले २–१ को जित हात पार्दा सर्बियन समर्थकलाई लक्षित गरी उत्तेजित हुने गतिविधि देखाएका थिए । जुन खेलभावना विपरीत थियो । यही कारणलाई लिएर फिफा उनीहरूलाई दुई खेल प्रतिबन्ध लगाउन पाउने प्रावधान छ।

यस्तै सर्बियाका समर्थकले अभद्र व्यवहार देखाएको भन्दै सर्बियन फुटबल संघलाई पनि फिफाले ५४ हजार स्विस फ्रांक (५४ हजार ७ सय अमेरिकी डलर) जरिवाना गरेको छ।

 

प्रकाशित: १२ असार २०७५ २२:३२ मंगलबार

खेलाडीलाई कारबाही