खेल

समूह विजेता बनेकाे स्पेनकाे भेट अायाेजक रसियासँग

काठमाडाैं - स्पेन समूह बी काे विजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ।

समूह चरणको आफ्नो अन्तिम खेलमा सोमबार स्पेनले मोरक्कोलाई दुई दुई गोलको बराबरीमा रोक्दै समूह विजेता बनेको हो। यस्तै पोर्चुगल  उपविजेता बन्दै नकआउट चरण प्रवेस गरेको छ भने इरान र मोरक्को समूह चरणमै सिमित भएका छन्।

सोमबार भएको खेलमा मोरक्कोले दुर्ईपल्ट खेलमा अग्रता बनाएपनि त्यसलाइ जोगाउन नसक्दा बराबरीमा रोकियो। पहिलो हाफको १४ औं मिनेटमा स्पेनका डिफेन्डरबीच तालमेल नमिल्दा त्यसको फाईदा मोरक्कोका खालीद वोताइबले उठाउँदै गोल गरेका थिए। एक गोलले पछि परेपछि केहि आक्रामक बनेको स्पेनले त्यसको ५ मिनेटपछिनै बराबरी गोल फर्कायो। स्पेनकालागि खेलको १९ औं मिनेटमा इस्कोले इनियस्टाको पासमा गोल गरे। त्यसछि पहिलो हाफको खेल सकिँदा सम्म दुवै टोलीका तर्फबाट गोलकालागि प्रयास भएपनि गोल हुन नसक्दा पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ८१ औं मिनेटमा पुनः मोरक्कोले अग्रता बनायो। मोरक्कोका युसेफ एन नेसरीले कर्नरबाट आएको बललाई डि बक्सभित्रबाट हेडिङ् गर्दै उत्कृष्ट गोल गरे। खेलको निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा दुई एक गोलले पछि परेपछि खेलमा फर्कन संघर्ष गरेको स्पेन खेलको अतिरिक्त समयमा बराबरी गोल गर्न सफल भयो। स्पेनकालागि इयागो एसपसले ड्यानियलको पासमा गोलपोष्ट नजिकैबाट गोल गरे। आजको खेलमा मोरक्कोका ६ खेलाडीले पहेँलो कार्ड पाएका थिए।  

सोमबारको बराबरीसँगै स्पेन अपराजित रहँदै अर्को चरण प्रवेस गरेको हो। स्पेनले समूह चरण अन्तर्गतका खेलमा यसअघि पोर्चुगलसँग तिन तिनको बराबरी खेलेको थियो भने इरानलाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो।

नकआउट चरणमा प्रवेस गरेको स्पेनले आयोजक रसियालाई प्रतिद्वन्द्वी पाएको छ। रसिया र स्पेनबीचको खेल आगामी आईतबार नेपाली समय अनुसार पौने ८ बजे हुनेछ।

प्रकाशित: ११ असार २०७५ २०:५९ सोमबार

समूह विजेता बनेकाे स्पेनकाे अायाेजक रसियासँग