खेल

पोर्चुगल समूह ‘बी’ उपविजेताको रुपमा विश्वकपको अन्तिम १६ मा प्रवेश

रूस – पोर्चुगल समूह ‘बी’ को उपविजेताको रुपमा रसिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मोर्डोभिया एरिना रंगशालामा सोमबार सम्पन्न खेलमा इरानसँग १–१ को बराबरीमा रोकिएसँगै पोर्चुगल उपविजेता भएको हो।

समूह ‘बी’ कै अर्को खेलमा स्पेन मोरक्कोसँग २–२ को बराबरीमा रोकिएपछि गोलअन्तरका आधारमा स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बनेका हुन्। अब प्रि क्वाटरफाइनलमा पोर्चुगलको भेट उरुग्वेसँग हुनेछ। उरुग्वे समूह ‘ए’ को विजेता हो। त्यस्तै समूह ‘बी’ को विजेता बनेको स्पेनले प्रि क्वाटरफाइनलमा आयोजक राष्ट्र रुसको सामना गर्नेछ।

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलमा पोर्चुगलका लागि रिकार्डो करेज्माले ४५ औं मिनेटमा उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा करिम एन्सरीफार्डले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा टुंग्याएका हुन्। पोर्चुगलको डि बक्स भित्र इरानका सारदर आजमौनले गरेको हेडबल पोर्चुगलका सेड्रिकको हातमा लागेपछि इरानले पेनाल्टी पाएको थियो। सो पेनाल्टीलाई एन्सरीफार्डले गोल गरेका हुन्।

खेलको ५३ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पाएपनि कप्तान क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके। इरानका मोर्टेजा पौरालीगान्जीले रोनाल्डोलाई डि बक्समा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो। रोनाल्डोले प्रहार गरेको पेनाल्टी इरानका गोलकिपर अलिरेजा बिरनभन्डले रोकेका थिए। जारी विश्वकपमा पेनाल्टीमा गोल गर्न नसक्ने पेनाल्टीमा गोल गर्न नसक्ने रोनाल्डो दोस्रो स्टार खेलाडी हुन्।

यसअघि अर्जेन्टिनाका लियोनल मेसीले आइसल्याण्डविरुद्धको उद्घाटन खेलमा पेनाल्टीमा गोल गर्न सकेका थिएनन्। रोनाल्डो पेनाल्टीमा चुक्दा इङ्ल्याण्डका ह्यारी केनसँग बराबरी गोल गर्ने अवसर पनि गुमाएका छन्। केनले ५ गोल गरेका छन भने रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुले समान ४–४ गोल। रोनाल्डोले गोल गरेको भने पोर्चुगल समूह बिजेता बन्ने थियो। पहिलो हाफमा इरानलाई दबाबमा राखेपनि पोर्चुगलले गोल गर्न ४५ मिनेटसम्म कुर्नु परेको थियो।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाएका केहि अवसरलाई सदुपयोग गर्न सकेनन्। यता पोर्चुगलविरुद्ध आक्रमक फुटबल खेलेपनि फिनिसिङमा चुक्दा इरानले गोल गर्न सकेन्। इरानले गोल गर्ने अवसर सिर्जना गरेपनि पोर्चुगलका खेलाडीले त्यसलाई विफल पारिदिएका छन्।

खेलमा ७३ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पार्दै इरानलाई दबाबमा राखेको पोर्चुगलले अन्य गोल भने गर्न सकेन्। पोर्चुगलले अघिल्ला दुईमध्ये एक खेलमा जित र एक खेलमा बराबरी गरेको थियो। पोर्चुगलले उद्घाटन खेलमा स्पेनसँग ३–३ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो। यता इरानले उद्घाटन खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा स्पेनसँग १–० ले हारेको थियो।

यो खेलमा पोर्चुगलले बराबरी गरेपनि अघिल्लो चरणमा प्रवेश गर्नेथ्यो। एसियाली राष्ट्र इरान २०१८ को रसिाया विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। अघिल्लो चरणको यात्रा तय गर्न आजको खेलमा इरानलाई जित्नैपर्ने दबाब थियो भने पोर्चुगललाई बराबरी गरे पुग्नेथ्यो। 

प्रकाशित: ११ असार २०७५ २०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App