खेल

मेसी र अर्जेन्टिना ‘गर या मर’को अवस्थामा

रुस– पहिलो खेल बराबरी र दोस्रो खेलमा अनपेक्षित हारले दबाबमा रहेको अर्जेन्टिनालाई विश्वकप २०१८ को अघिल्लो चरण प्रवेशका लागि मंगलबार नाइजेरियाविरुद्धको खेलमा निर्विकल्प जित आवश्यक छ। 

दुई खेलको अनपेक्षित नतिजाबाट अर्जेन्टिनाले विश्वभरका करोडौं फ्यानलाई निराश बनाएको छ। आश गरिएका विश्वका उत्कृष्ट खेलाडी लियोनल मेसीको प्रदर्शन पनि निराशाजनक रह्यो। आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद हारले अर्जेन्टिनाको प्रतिष्ठा नै संकटमा परेको छ। 

यस्तो बेला समूह चरणमा पहिलो राउण्डको अन्तिम खेलमा मंगलबार राति ११ः४५ बजे नाइजेरियाको सामना गर्न तयारीमा जुटेको अर्जेन्टिनाका लागि विश्वकपमा अगाडिको बाटो खोल्न जितको अरु कुनै विकल्प छैन्। अर्जेन्टिना र मेसी ‘गर या मर’को अवस्थामा छन्। 

यतिमात्रै होइन अर्जेन्टिनाको भाग्य समूह डीको आइसल्याण्ड र क्रोएसियाको खेलमा पनि निर्भर रहनेछ। अर्जेन्टिनाको आगामी यात्राका लागि आइल्याण्ड क्रोएसियासँग पराजित हुनुपर्छ। यदि आइल्याण्डले खेल उल्ट्याएर क्रोएसियाविरुद्ध जित निकाल्यो भने पनि अर्जेन्टिना अगाडि बढ्न सक्छ। तर यसका लागि नाइजेरियाविरुद्ध फराकिलो अन्तरको जित आवश्यक छ।

अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिनाको पहिलो चरणमै खेलस्तर खस्किनुमा कोच जर्ज साम्पाओलीको निर्णयलाई प्रमुख कारण मानिएको छ। रक्षापंक्तिको लाचार प्रदर्शन त छँदै छ। मध्यपंक्तिले पनि फ्यानलाई निराश पारेको छ। 

यहाँ सम्मकी मेसीले पनि दर्शकलाई निराश बनाउन पछि परेनन्। उनी आइसल्याण्डविरुद्ध पेनाल्टीमा चुकेका थिए, जसको पीडा अझैपनि अर्जेन्टिनाले महसुस गरिरहेको छ। अर्जेन्टिनाको नाममा अहिले दुई खेलबाट १ अंक मात्रै छ, नाइजेरियाविरुद्ध बराबरी वा हार ब्यहोरे टिम २००२ पछि पहिलोपटक विश्वकपको सुरुवाती चरणबाटै बाहिरिने छ। 

अब फेरि एकपटक अर्जेन्टिनाको भरोसा मेसीमाथि टिकेको छ, जसको ह्याट्रिक मद्दतमा उसले विश्वकपको लागि क्वालिफाई पार गरेको थियो। यही बेला खेलाडी र कोचबीच मतभेदको खबरहरु आइरहेका छन्। भोलिको म्याच जित्ने हो र मेसीले उत्कृष्ट प्रदर्शन गर्नका लागि टिम एकजुट भएर खेल्नुपर्ने आवश्यक छ। 

उता नाइजेरियाले अहिलेसम्म अनुशासित प्रदर्शन गरेको छ। विक्टर मोसेज र अहमद मुसा उत्कृष्ट फर्ममा छन्। दुबैले प्रतिद्वन्द्वी टिमको रक्षापंक्तिलाई असफल पार्न कुनै कसर बाँकी राखेका छैनन्।

नाइजेरियाले पछिल्लो खेलमा आइसल्याण्डलाई २–० ले हराएको थियो। अब अर्जेन्टिनामाथि जित वा बराबरी भएमा नकआउटमा स्थान सुरक्षित गर्नेछ।  

इतिहास हेर्ने हो भने विश्वकपमा यी दुबै टिमबीच अहिलेसम्म ४ पटक भएका खेलमा सबैमा अर्जेन्टिनाले जित निकालेको छ। उसले पछिल्लो विश्वकपमा नाइजेरियालाई ३–२ ले हराएको थियो। यो खेलमा मेसीले दुई गोल गरेका थिए। 

प्रकाशित: ११ असार २०७५ १०:३२ सोमबार

मेसी अर्जेन्टिना या मरको अवस्थामा