खेल

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

काजान  – स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो । यस पटक ३२ वर्षे फाल्काओसामु रोड्रिग्वेजको जस्तै उत्कृष्ट प्रदर्शन गर्दै कोलम्बियालाई पुनः एक पटक ४ वर्षअघिको उपलब्धि दोहोर्याउने सुनौलो अवसर आएको छ।

पहिलो खेलमा एसियाली राष्ट्र जापानसँग २–१ ले स्तब्ध भएको कोलम्बियाले समूह ‘एच’ को दोस्रो खेलमा आइतबार पोल्यान्डको सामना गर्दै छ । पोल्यान्डमाथि जित हात पार्न नसके कोलम्बिया समूहचरणबाटै घर फर्किने संघारमा उभिनेछ।

समूह ‘एच’ मा समान ३ अंक जोडेका सेनेगल र जापान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन पोल्यान्ड र कोलम्बिया तेस्रो र चौथो स्थानमा छन्।

‘आज हामी यस्तो अवस्थामा उभिएका छौं, जहाँ जितको विकल्प छैन । त्यसैले हामी जितका लागि सबै शक्ति प्रयोग गर्नेछाैं,’ फाल्काओले भने, ‘हामीले पनि पहिलो खेल गुमाएका थियांै भने पोल्यान्डले पनि पहिलो खेल गुमाएको थियो । दुवै टोलीसामु जितका विकल्प छैन । त्यसैले यो खेल दुवै टोलीका लागि फाइनल सरह छ।’

ब्राजिल विश्वकपमा फाल्काओ घुँडाको चोटका कारण मैदानबाहिर बसेर खेल हेर्न बाध्य भएका थिए । उरुग्वेविरुद्ध रोड्रिग्वेजले गरेको गोल ‘प्रतियोगिताकै उत्कृष्ट गोल’ घोषित हुँदा कोलम्बियाले १६ वर्षपछि विश्वकपको यात्रा सफल पार्दै क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो।

७४ खेलमा २९ गोल गरेका फाल्काओ कोलम्बियाका सर्वकालीन गोलकर्ता हुन् । उनले पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोवस्कीलाई ‘कुनै पनि समय खेलको नतिजा परिवर्तन गर्न सक्षम स्ट्राइकर’ को संज्ञा दिँदै उनीसँग सतर्क भएर खेल्ने बताए।

यता पहिलो खेलमा सेनेगललाई २–१ को नतिजा सुम्पिएको पोल्यान्डसामु पनि अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न कोलम्बियाविरुद्ध जितबाहेकको विकल्प छैन।

‘हामी खेलको स्थिति र टोलीको आवश्यकताबारे राम्रोसँग जानकार छौं,’ पोल्यान्डका रक्षक बार्टोस्ज बेरेसजिन्स्कीले भने, ‘हामी पहिलो खेलमा गरेका गल्ती सुधार गर्दै ३ अंकका लागि खेल्नेछाैं।’

प्रकाशित: १० असार २०७५ १७:२५ आइतबार

जितको आवश्यकतामा कोलम्बिया पोल्यान्ड दाबेदारी बलियो पार्ने लक्ष्य