खेल

अन्तिम समयको गोलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित

काठमाडौं - पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको छ।

सर्बिया विरुद्धको आफ्नो दोश्रो खेलमा स्विजरल्याण्डलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ५२ औं मिनेटमा ग्रयानिट जाकाले बराबरी गोल गरे। उनले २५ यार्ड टाढा बाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जालि चुमेको थियो। त्यसपछि खेलको ९० औ मिनेटमा स्विजरल्याण्डका लागि विजयी गोल हुन पुग्यो। सकिरीले गरेको उक्त गोलले स्विजरल्याण्ड विजयी मात्रै नभई अघिल्लो चरण प्रवेसको सम्भावनालाई समेत मजबुत बनायो।

खेलमा अग्रता भने सर्बियाले बनाएको थियो। सर्बियाका लागि खेलको ५ औं मिनेटमा एलेक्जेण्डर मिट्रोभिकले गोल गरेका थिए। पहिलो हाफको खेल सम्म जोगाएको अग्रतालाई दोश्रो हाफमा भने सर्बियाले जोगाउन नसक्दा एक खेल खेल्नु अगावै शिर्ष १६ मा पुग्ने सर्बियाको सपना चकनाचुर भयो। स्विजरल्याण्डलाई पराजित गरेको भए सर्बियाले नकआउट चरणमा स्थान सुरक्षित गर्ने थियो।

पहिलो हाफमा एक गोलले पछि परेपछि दोश्रो हाफको खेलमा आक्रामक बनेको स्विजरल्याण्ड जारी विश्वकपमा पछि परेको अवस्थालाई उल्ट्याउँदै जित निकाल्ने पहिलो टोली समेत बनेको छ।

स्विजरल्याण्डको जितले समुह ई का खेलहरु अब रोचक बनेका छन्। यो समुहबाट सुरुवातका दुवै खेलमा पराजय व्यहोर्दै कोस्टारिका भने समुह चरणबाटै वाहिरिएको छ भने अन्य बाँकी तिनवटा टोली मध्ये कुन दुई टोली शिर्ष १६ मा जाने भन्ने टुङ्गो लागिसकेको छैन। यसका लागि आगामि खेलहरु कुर्नु पर्ने भएको छ। शुक्रबारको खेलसँगै ब्राजिल र स्विजरल्याण्डको समान ४/४ अंक भएपनि गोल भिन्नताका आधारमा ब्राजिल समुहको शिर्ष स्थानमा रहेको छ। यस्तै तेश्रो स्थानमा रहेको सर्बियाको तिन अंक रहेको छ। अब यस समुह अन्तर्गत हुने  तेश्राे तथा अन्तिम राउण्डकाे खेलमा ब्राजिल र सर्बिया तथा स्विजरलयाण्ड र कोस्टारिकाबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: ८ असार २०७५ २१:०० शुक्रबार

अन्तिम समयको गोलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित