खेल

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

भोल्गोग्राड – विश्वकपमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसक्ने थोरै टोलीमध्ये एक नाइजेरिया हो भने अनुमान गरेभन्दा उत्कृष्ट प्रदर्शन गर्ने थोरै टोलीमध्ये एकका रूपमा आइसल्यान्ड स्थापित भएको छ।

यी दुवै टोली समूह ‘डी’ अन्तर्गत शुक्रबार भोल्गोग्राडमा हुने समूहको दोस्रो खेलमा आमने–सामने हुँदै छन् । पहिलो खेलमा क्रोएसियालाई २–० को नतिजा सुम्पिएको नाइजेरियाले आइसल्यान्डविरुद्ध जित हात पार्न नसके प्रतियोगिताबाट बाहिरिने संघारमा पुग्नेछ।

यता दुई पटकको विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिँदै पहिलो खेलमा १–१ को बराबरी नतिजा निकालेको आइसल्यान्ड विश्वकपमा पहिलो सहभागिता स्मरणीय बनाउन चाहन्छ । अर्जेन्टिनाविरुद्धको जस्तै लयलाई नाइजेरियाविरुद्ध निरन्तरता दिँदै अन्तिम १६ प्रवेशको सम्भावना जीवित राख्नु आइसल्यान्डको लक्ष्य हुनेछ।

समूहमा ३ अंक जोडेको क्रोएसिया शीर्ष स्थानमा रहँदा अर्जेन्टिना र आइसल्यान्ड समान १ अंकका साथ दोस्रो तथा तेस्रो स्थानमा छन् । नाइजेरियाले अंक जोड्न सकेको छैन । आइसल्यान्डका कप्तान आरोन गुनार्सनले पहिलो खेलमा अर्जेन्टिनालाई रोक्दा टोलीको मनोबल उच्च भए पनि नाइजेरियाविरुद्ध थप सुधारिएको प्रदर्शन गर्न आवश्यक भएको बताए।

‘हामी नाइजेरियाविरुद्ध ३ अंक जोड्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न चाहन्छौं,’ गुनार्सनले भने, ‘अर्जेन्टिनालाई बराबरीमा रोक्दा टोलीको मनोबल बढे पनि दोस्रो खेलमा सुखद नतिजा ल्याउन नसके त्यसको कुनै अर्थ हुने छैन।’

प्रतियोगिताकै युवा टोली नाइजेरिया आइसल्यान्डलाई पराजित गर्दै अन्तिम १६ प्रवेश सम्भावना कायम राख्न चाहन्छ । नाइजेरियाले ४ वर्षअघि ब्राजिल विश्वकपमा अन्तिम १६ सम्मको यात्रा गरेको थियो । ‘हामीसँग बाँकी दुई खेलमा जित हात पार्नुको विकल्प छैन,’ नाइजेरियाका प्रशिक्षक ग्रेनोट रोहरले भने, ‘हामीले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्दै छौं । त्यसैले हामी आइसल्यान्डविरुद्ध जित हात पार्दै उक्त खेलका लागि मनोबल उच्च पार्नुका साथै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न चाहन्छाैं।’

रोहरले क्रोएसियाविरुद्धको खेलमा आफ्नो टोलीले कर्नर प्रहारमा गल्ती गरेको भन्दै आइसल्यान्डविरुद्ध त्यही गल्ती नदोहोर्याउने बताए । ‘हामी प्रतियोगिताकै युवा टोली हाैं,’ उनले भने, ‘त्यसैले खेलाडीहरूमा अनुभवको कमी छ तर पनि सुखद नतिजा ल्याउनेमा म विश्वस्त छु।’

उनले क्रोएसियाविरुद्धको खेलमा ४ रक्षकलाई खेलाए पनि आइसल्यान्डसँग भने ३ रक्षक मात्र खेलाउने संकेत गरे । रोहरले कप्तान आवी मिकेललाई आक्रामक मिडफिल्डरको रूपमा खेलाउने योजना बनाएको बताए।

नाइजेरियाका प्रशिक्षकले पहिलो खेलको रणनीति परिवर्तन गर्ने बताए पनि आइसल्यान्डले भने अर्जेन्टिनाविरुद्धको खेलमा लिएको रणनीति शुक्रबार पनि दोहोर्याउने बताइएको छ । आइसल्यान्ड पहिलो खेलमा ४–५–१ को रणनीतिमा मैदान उत्रिएको थियो।

‘पहिलो खेलको नतिजापछि हामीलाई प्रतियोगिताको अनुमान गर्न नसकिने टोलीका रूपमा हेरिएको छ,’ अर्जेन्टिनााविरुद्ध बराबरी गोल गर्दै आइसल्यान्डको विश्वकप यात्राको सुखद सुरुआत दिलाएका अल्फर्ड फिन्बोगासनले भने।

प्रकाशित: ७ असार २०७५ २०:२६ बिहीबार

जित खोज्दै नाइजेरिया आइसल्यान्ड