खेल

४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

नवलपुरमा क्रिकेट रंगशालका लागि हेरिएको जग्गा । तस्बिर सौजन्य : भुवन गुरुङ

पोखरा– ४ नं प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन सुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाउँको अवलोकन गरी प्रतिवेदनसमेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन।

‘प्रदेशका ११ वटै जिल्लाका सम्भावित फिल्ड गएर हेरेर रेकर्ड राख्दैछौं’, सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाले भने, ‘सबै जिल्ला हेरिसकेपछि सम्भावित ठाउँको वास्तविकतासहितको रिपोर्ट मन्त्रालयमा पेस गर्नेछौं । मन्त्रीस्तरीय निर्णयपछि काम अगाडि बढ्ने छ ।’ प्रदेश सरकारले एकसाता अघि सार्वजनिक गरेको बजेटमा प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेपछि मन्त्रालयले त्यसका लागि जिल्ला तहमा पुगेर सम्भावित अध्ययन सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसँगै प्रतियोगिता सञ्चालन गर्दा दुईवटा मैदान अनिवार्य हुन्छ । त्यसैले अर्को वैकल्पिक मैदान बनाउनुपर्ने खाँचो छ।

मन्त्रालयका शाखा अधिकृत तिमिल्सिनाका अनुसार नवलपुर, बाग्लुङ, पर्वत र तनहुँमा फिल्ड भिजिट गरिसकिएको छ । नवलपुरमा १६ वटा ठाउँ हेरिएको जानकारी दिँदै उनले तीमध्ये दुई ठाउँ क्रिकेटको लागि उपयुक्त हुने बताए । ‘नवलपुरमा खुल्ला चौर धेरै छन् । तर पनि दुई ठाउँ सबै हिसाबले उपयुक्त देखिएको छ ।’ उनले भने, ‘तनहुँमा पनि राम्रो ठाउँ हेरियो । बागलुङमा पनि उपयुक्त नै छ।’

तनहुँको घाँसीकुवाँदेखि केहीभित्र जग्गा हेरिएको उनले बताए । बागलुङमा बागलुङदेखि १३ किलोमिटर पर सिंगानामा जग्गा हेरिएको सुनाए । बागलुङ बजार प्रवेशअगावै रहेको बांगेचौर खेलमैदान, बलेवा विमानस्थलसँगै जोडिएको बलेवा खेलमैदान हेरिएको छ । तर प्राविधिक रुपले बलेवा र बांगेचौर उपयुक्त नदेखिएको अध्ययन टोलीले औंल्याएको छ । टोलीले स्याङ्जाको विभिन्न ठाउँमा हेर्ने जनाएको छ । स्याङ्जाको वालिङस्थित लामेबगर खेलमैदान छ।

अर्जुनचौतारीमा समेत उपयुक्त जग्गा रहेको स्थानीयले हेर्नका लागि मन्त्रालयलाई सिफारिस गर्दै आएको उनले बताए ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले कास्कीको भरतपोखरीस्थित पशुपति घाट र सिम्पानीस्थित सिंचाइको जग्गा उपयुक्त हुने बताएका छन् । ‘धुर्मुस सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन जग्गा खोज्ने क्रममा पोखरा आएको अवस्था ती ठाउँ उत्तम विकल्पको हुने जानकारी दिएका थियौं ।’ उनले भने, ‘प्रदेश सरकारलाई पनि ती ठाउँ उपयुक्त हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसँगै प्रतियोगिता सञ्चालन गर्दा दुईवटा मैदान अनिवार्य हुन्छ । एउटा मात्रै मैदान भएको ठाउँमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैन । त्यसैले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानबाहेक अर्को वैकल्पिक मैदान बनाउनुपर्ने खाँचो कास्की क्रिकेट संघले औंल्याउँदै आएको छ।

पशुपति घाट झन्डै २ सय रोपनी क्षेत्रफलमा छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदान निर्माण समितिका पूर्व सदस्यसमेत रहेका अशोक पालिखेले पशुपति घाटलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने बताए । ‘सेती नदी किनारबाट चेक ड्याम लगाई थोरै बजेटबाटै जग्गा सम्याउने काम गरे जग्गा संरक्षण हुनेछ,’ उनले भने, ‘भविष्यका लागि त्यो ठाउँ उपयुक्त हुनेछ ।’ सार्वजनिक जग्गा अहिलेदेखि नै मैदानका लागि संरक्षण गर्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: ६ असार २०७५ ०८:३४ बुधबार

नं प्रदेश सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने