खेल

विश्वकप फुटबल : कोलम्बियासँग जापानले लियो ४ वर्ष अगाडिको बदला

रूस – रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ। जापानले मंगलबार भएको आफ्नो पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको हो।

मोर्डोभिया एरिना रंगशाला सारांस्कमा सम्पन्न खेलमा १० खेलाडीमा सिमित भएको कोलम्बियालाई जापानले संघर्षपूर्ण खेलमा पराजित गरेको हो। योसँगै जापानले ब्राजिलमा भएको अघिल्लो विश्वकपमा ४–१ ले भोगेको पराजयको बदला लिएको छ। जापानको जितमा सिन्जी कागवा र युया ओसाकोले एक–एक गोल गर्दा पराजित कोलम्बियाका फर्नान्डो क्विनटेरोल एक गोल फर्काए।

खेलको तेस्रो मिनेट चलिरहदा जापानका खेलाडी कागवाले प्रहार गरेको बल कोलम्बियाका खेलाडी कार्लोस सान्चेजल हातले रोकेपछि उनले रातो कार्ड पाएका थिए। सान्चेज यो विश्वकपमा रातो कार्ड प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्। विश्वकप इतिहासमा भने छिटो कार्ड पाउने उनी दोस्रो खेलाडी बने। उनलाई रेफ्रिले रातो कार्ड देखाउनुका साथै जापानलाई पेनाल्टी दिएका थिए।

सिन्जी कागावाले उक्त पेनाल्टीमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए। तेस्रो मिनेटबाटनै १० खेलाडीमा समेटिएको कोलम्बियाले खेलको ३९ औं मिनेटमा फर्नान्डो क्विनटेरोल बराबरी गोल फर्काए। पहिलो हाफको खेल बराबरीमा सकिएपनि दोस्रो हाफमा जापानले अर्को गोल गर्यो। उसका लागि ओसाको ७३ औं मिनेटमा गोल गरे।

डि बक्स भित्र कोलम्बियाक खेलाडीले बल क्लियर गर्न नसक्दा उनले गोल गरेका हुन्। त्यसपछि निर्धारित समयको खेलमा दुवै टोलीले अन्य गोल गर्न नसकेपछि जापानले अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

कोलम्बियाका स्ट्राइकर हामेस राड्रिगेज दोस्रो हाफमा मैदानमा प्रवेश गरेपनि उनले चमत्कारी खेल देखाउन सकेनन। ६१ प्रतिशत बल आफ्नो पक्षमा राखेपनि जापानले अन्य गोल गर्न सकेन्। कोलम्बियाले पनि पाएका केहि सुन्दर अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमै हार ब्यहोर्न बाध्य भयो। 

 

प्रकाशित: ५ असार २०७५ १३:५७ मंगलबार

विश्वकप फुटबल कोलम्बियासँग जापानले लियो अगाडिको बदला