खेल

विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन

लोप्तेगी बर्खास्त

मस्को – विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ।

स्पेनिस फुटबल संघका प्रमुख लुइस रुबेल्सले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेको अवस्थामा कुनै एक क्लबको प्रशिक्षक प्रस्ताव स्वीकार गरेर आफूहरूलाई धोका दिएकाले लोप्तेगीलाई बर्खास्त गरेको बताएका छन् । रुबेल्सले उनको स्थानमा छिट्टैे राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षक नियुक्त गर्दै रूस पठाउने समेत बताए।

यसअघि मंगलबार स्पेनिस महारथी रियाल मड्रिडले बुधबार लोप्तेगीलाई प्रमुख प्रशिक्षमा नियुक्त गरेको घोषणा गरेको थियो । गत महिना फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि रियाल प्रशिक्षकविहीन बन्दै आएको थियो । तर त्यसको २४ घण्टा समेत नबित्दै उनी बर्खास्तगीमा परेका हुन् । ‘रूस विश्वकपमा सहजै स्थान पक्का गर्न लोप्तेगीले खेलेको भूमिका महत्वपूर्ण छ र हामी उनलाई धन्यबाद दिन चाहन्छौं,’ रुबेल्सले भने, ‘तर हामी पछिल्लो परिस्थितिका कारण उनलाई बर्खास्त गर्न बाध्य भएका छौं।’

स्पेनिस फुटबल संघले रियाल र लोप्तेगीले दुई पक्षबीचको सम्झौता सार्वजनिक गर्नु पाँच मिनेटअघि मात्र जानकारी गराएको आरोप लागाएको छ।

‘यस घटनापछि म मस्कोमा सन् २०२६ को विश्कप आयोजकका लागि हुने चुनाव छोड्दै क्रासडोर फर्किन बाध्य भएँ,’ आक्रोशित देखिएका रुबेल्सले भने, ‘राष्ट्रिय टोलीको प्रशिक्षक भएपछि उनले गर्ने हरेक कार्य हामीलाई जानकारी गराउन आवश्यक छ । उनले रियालले पत्रकार सम्मेलन गर्नु पाँच मिनेटअघि मात्र हामीलाई जानकारी गराए । तर उनको पछिल्लो कदमले उनले आफूखुसी निर्णय लिएको र औपचारिकताका लागि मात्र जानकारी गराएको प्रस्ट हुन्छ । त्यसैले हामी यो कदम चाल्न बाध्य भयौं।’

‘विश्वकप महत्वपूर्ण प्रतियोगिता हो र यहाँ सबैको उद्देश्य उत्कृष्ट प्रदर्शन गर्दै विश्वविजेता बन्नु हो,’ उनले थपे, ‘यसका लागि टोलीका साथै प्रशिक्षक पनि उत्कृष्ट हुन आवश्यक छ । तर त्योभन्दा पनि महत्वपूर्ण पक्ष सबै अनुशासनमा बस्नु हो । तत्कालका लागि यो कदमले स्पेनिस टोली कठिन अवस्थामा आए पनि यसले अबका दिनमा अन्य प्रशिक्षक तथा खेलाडीलाई जिम्मेबार बन्न राम्रो पाठ समेत सिकाउनेछ । मैले यस विषयमा टिम कप्तान सर्जियो रामोस र अन्य खेलाडीसँग कुरा गरिसकें । उनीहरू नयाँ प्रशिक्षकसँग साझेदारी गर्दै टोलीलाई विश्वकपको उपाधिसम्म डोर्याउन तयार छन् ।’ लोप्तेगीले भने हालसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

रूस विश्वकपको समूह ‘बी’ मा भएको स्पेनले शुक्रबार पोर्चुगलविरुद्धको खेलसँगै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यस्तै स्पेनले दोस्रो खेल जुन २० मा इरानसँग खेल्नेछ भने २५ जुनको अन्तिम खेलमा मोरक्कोको सामना गर्नेछ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०५:०० बिहीबार

विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन