खेल

वेस्ट इन्डिजको विजयी सुरुआत

पोर्ट अफ स्पेन – रोस्टन चेस र देवेन्द्र विश्वको उत्कृष्ट बलिङप्रेरित वेस्ट इन्डिजले आइतबार पहिलो टेस्टमा श्रीलंकालाई २ सय २६ रनले पराजित गरेको छ।

श्रीलंकाले १७६–३ बाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको थियो। ४ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको टोलीलाई जितका लागि थप २ सय ७७ रन आवश्यक हुँदा सात विकेट सुरक्षित थियो। तर श्रीलंकाले थप ५० रन जोड्दा बाँकी ७ विकेट गुमाउँदै २ सय २६ रन मात्र जोडन सक्यो।

चौथो दिन अविजित ९४ रनमा खेलिरहेका ओपनर कुशल मेन्डिस थप ८ रन जोड्दा सानोन ग्याब्रियलको बलमा विकेटकिपर सेन डोरिचबाट क्याच भएका थिए। २ सय बल खेलेका मेन्डिसले १० चौका र २ छक्का प्रहार गरे। शनिबार १५ रनमा रिटायर्ड हर्ट भएका कप्तान दिनेश चन्डीमल थप १२ रन जोड्दा चेसको बलमा क्रायग ब्रेथह्वाइटबाट क्याच भएका थिए। त्यस्तै विकेटकिपर निरोशान डिकबेलाले १९ रन जोडे पनि टोलीको इनिङ जोगाउन सकेनन्।

दोस्रो इनिङमा ८.२ ओभर बलिङ गरेका चेसले १५ रन खर्चदै ४ विकेट लिदा विश्वले १९ ओभरमा ४८ रन खर्चदै ३ विकेट लिए।

यसअघि वेस्ट इन्डिजले डोरिचको अविजित १ सय २५ रन मद्धतमा ४४३–८ को अवस्थामा पुगेपछि पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। फितलो ब्याटिङ गरेको श्रीलंका पहिलो इनिङमा मात्र १ सय ८५ रनमा सिमित हुँदै वेस्ट इन्डिज भन्दा २ सय ५८ रनले पछि परेको थियो। वेस्ट इन्डिजले चौथो दिन २२३–७ मा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो।

यस जितसँगै वेस्ट इन्डिजले ३ टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ। शृंखला अन्तर्गतको दोस्रो खेल बिहीबार ग्रस स्लेटमा सुरु हुनेछ।

प्रकाशित: २९ जेष्ठ २०७५ ०२:२६ मंगलबार

वेस्ट इन्डिजको सुरुआत