खेल

संकटा फाइनलमा

बाँके – पूर्वच्याम्पियन टोली सुदूरपश्चिम–११ लाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै सिएमजी क्लब संकटा टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार संकटाले नेपालगन्ज गोल्ड कपको उपाधिका लागी लाली रूपन्देही–११ सँग खेल्नेछ।

संकटा र सुदूरपश्चिमबीचको खेल निर्धारित ८० मिनेटमा २–२ को बराबरीमा सकिएको थियो । काठमाडौंको सरस्वतीलाई सडनडेथमा हराउँदै सेमिफाइनलमा पुगेको सुदूरपश्चिमले बिहीबार सुरुआतमै अग्रता लिएको थियो । ६ मिनेटमा विजयसिंह ठकुरीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता लिए पनि सुदूरपश्चिमले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन । सुदूरपश्चिमको डिफेन्स कमजोर बनेको फाइदा लिँदै संकटाले ४३औं मिनेटमा खेल बराबरी गरेको थियो । संकटाको तर्फबाट दुवै गोल इलोन म्याक्सोलले गरे । उनले ४३औं र ७०औ मिनेटमा गोल गरेका थिए।

टाइब्रेकरमा संकटाका गोलकिपर दिनेश थापामगरले दुई प्रहार रोकेका थिए । संकटाको तर्फबाट भूषण सुब्बा, रोमन लिम्बु र कप्तान सरोज दाहालले गोल गर्न सफल भए । संकटाका म्याक्सोलको प्रहार भने पोलमा लागेर फर्कियो । यसै गरी सुदूरपश्चिका कप्तान चेतन थारू मात्र गोल गर्न सफल भए । सुदूरपश्चिमका गोजेन्द्र थारू, नरेन्द्र चौधरीले गोल गर्न सकेनन्।

जितपछि संकटाका प्रशिक्षक जुजुकाजी डंगोलले गर्मीका कारण खेलाडीले आफनो शतप्रतिशत खेल खेल्न नसकेको बताए। ‘हामीलाई गर्मीमा खेल्न निकै कठिन हुन्छ । खेलाडीले सक्दो राम्रो खेलेका छन् । हामी लिगको तयारी गरिरहेका छौं । लिग प्रतियोगिताको तयारीमा नेपालगन्ज गोल्ड कपले धेरै सहयोग गर्नेछ,’ उनले भने।

खेलमा संकटाका सन्त गुरुङ म्यान अफ दी म्याच बन्न सफल भए । म्यान अफ दी म्याच गुरुङलाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले कलर्सको मोबाइल सेट प्रदान गरेका थिए।

सुदूरपश्चिमका प्रशिक्षक एवम् क्लबका अध्यक्ष सुरेश हमालले सेमिफाइनलसम्म खेलाडीले उत्कृष्ट खेलेको बताए । उनले भने, ‘अहिले हाम्रो टिम पूर्ण छैन । केही खेलाडी टिममा छैनन् । डिफेन्स कमजोर हुँदा लिएको अग्रता जेगाउन सकेनौं । तर पनि हामी खुसी छौं । हामीले राम्रो खेल्यौं।’

बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । फाइनलमा विजेता टोलीले ५ लाख, उपविजेताले २ लाख ५० हजार र उत्कृष्ट खेलाडीले सुजुकीको मोटरसाइकल प्राप्त गर्नेछन्।

प्रकाशित: २५ जेष्ठ २०७५ ०४:२३ शुक्रबार

संकटा फाइनलमा