खेल

एसियाडलाई पुनः छनोटको माग

काठमाडौं – प्रतिभावान् खेलाडीलाई अवसर नदिई इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकुदका लागि खेलाडी छानेको भन्दै टेनिसमा पुनः छनोटको माग राख्दै खेलाडीहरूले निवेदन दिएका छन्।

थुप्रै घरेलु प्रतियोगिताकी च्याम्पियन प्रेरणा कोइराला र सन्तोष खत्रीले पुनः छनोट गराउनुपर्ने मागसहित नेपाल लन टेनिस संघ, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीमा अनुरोध गरेका छन्।

संघले कात्तिकको अन्तिममा राखेप च्याम्पियनसिप आयोजना गर्दै त्यहीँबाट खेलाडी छानेको थियो । नेपाली टेनिसमा असाधारण प्रतिभाको रूपमा उदाएकी प्रेरणा बंगलादेशमा आइटिएफ प्रतियोगिता खेल्न गएकाले राखेप च्याम्पियनसिपमा सहभागी थिइनन् । सन्तोषले भने सात महिनाअघि गरिएको प्रतियोगिताबाट खेलाडी छनोट गर्न नमिल्ने भन्दै पुनः छनोटको माग राखेका हुन्।

‘हामी संघको अनुमति लिएर बंगलादेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका थियौं । तर एउटा प्रचुर सम्भावना बोकेको खेलाडीलाई छनोटमै सहभागी नगराईकन एसियाली खेलकुदमा भाग लिनु भनेको दुर्भाग्यपूर्ण कुरा हो,’ संघका केन्द्रीय सदस्यसमेत रहेका प्रेरणाका बुबा पुरुषोत्तम कोइरालाले नागरिकसँग भने, ‘हामीले प्रेरणालाई छनोटमा सहभागी गराउन सम्बद्ध निकाय गुहार्दा उल्टै टेनिस संघले प्रेरणालाई एक वर्ष खेल्न प्रतिबन्ध लगाएको छ । मलाई चाहिँ स्पष्टीकरण मागेको छ।’

एसियाली खेलकुदका लागि संघले महिला र पुरुषमा दुई–दुई गरी चार खेलाडी छनोट गरेको छ । महिलामा संघकी अध्यक्ष ज्योति राणाका छोरीहरू माहिका र मायंका तथा पुरुषमा संरक्षकभूषण वज्राचार्य र अभिशेक बास्तोला छानिएका छन्।

अध्यक्ष राणाले राष्ट्रिय खेलकुद परिषद्ले राखेप च्याम्पियनसिपलाई छनोटको आधार मान्नेबाहेक अरू कुनै नियम नबनाएको बताउँदै प्रेरणाले छनोटमा भाग नलिएको बताइन् । ‘सन्तोष खत्रीको कुरा त हामीले सुनेको छैन । तर प्रेरणाको विषयमा उसले छनोट प्रतियोगिता खेलेको छैन । छनोट प्रतियोगिता नखेल्ने अनि एसियाड खेल्न पाऊँ भन्दै हिँडेर कसरी हुन्छ,’ राणाले भनिन्, ‘प्रेरणाले बंगलादेश जाँदा संघमा निवेदन दिएर गएको रहेछ । तर संघले स्वीकृत गरेको थिएन । माहिका र मायंका पनि त्यही प्रतियोगिता खेल्न बंगलादेश गएका थिए । यहाँ राखेप च्याम्पियनसिप हुने भनेर बोलाउँदा उनीहरू आए, प्रेरणा आइनन्।’

अर्का खेलाडी सन्तोषले सात महिनाको बीचमा खेलाडीको फर्म धेरै तलमाथि हुने भन्दै एसियाली खेलकुदका लागि पुनः छनोटको माग राखेका हुन् । ‘सात महिनाको बीचमा खेलाडीको स्तर तल–माथि हुने हुँदा पुनः छनोट नगराए प्रतिभाशाली खेलाडीमाथि अन्याय हुन्छ,’ सन्तोषले परिषद् र संघलाई दिएको निवेदनमा उल्लेख गरेका छन्, ‘यो अवधिमा राम्रो गर्ने खेलाडी अघि बढिरहेको हुन्छ, नराम्रो गर्ने तल झरिरहेको हुन्छ । सात महिना पुरानो छनोटबाट खेलाडी पठाउनु वैज्ञानिक र व्यावहारिक हुन्न । त्यसैले फेरि छनोट गराउनुपर्छ।’

यसैबीच नेपाली खेलाडीहरूको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका साथै नेपाल खेलाडी तथा प्रशिक्षक संघले पनि एसियाली खेलकुदको खेलाडी छनोट विषयमा तत्काल छानबिन गरी सही खेलाडी छान्न परिषद्समक्ष माग राखेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७५ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App