खेल

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत

काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश नं १ लाई १०६ रनको भारी अन्तरले पराजित गर्दै विजयी भएको हो। 

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगिताको खेल वर्षाले प्रभावित भएपछि ४५ ओभरमा छोट्याइएको थियो। 

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले आठौँ नम्बरमा ब्याटिङ गर्नमा आएका कप्तान विनोद भण्डारीको विस्फोटक पारिको सहयोगमा निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो। 

भण्डारीले विस्फोटक पारि खेल्दै २९ बलमा ६४ रन बनाए। अन्तिम बलमा आउट हुनुअघि उनले ६ छक्का र ४ चौका प्रहार गरे। त्यस्तै, ओपनर सागर पुन ८ रनमै आउट भएपछि आएका नरेश बुढायरले अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे। 

मण्डल ३६ रनमा आउट भएपछि आएका राजु रिजालले पनि ४ रन मात्र बनाउन सके। चौथो विकेटमा रुपमा नरेश बुढायर व्यक्तिगत ३२ रनमा आउट हुँदा आर्मीले २५ दशमलव १ ओभरमा ८८ रन बनाएको थियो। 

मध्यक्रममा आर्मीका भीम सार्कीले १४ र सोमपाल कामीले २२ रन जोडे। त्यसपछि आठौँ नम्बरमा ब्याटिङमा आएका भण्डारीले विस्फोटक पारी खेल्दै इनिङ उकासे। अन्तिम ओभरको पाँच बलमा भण्डारीले सबै बल बाउन्ड्री कटाएका थिए। जसमा तीन चौका र दुई छक्का थियो। आर्मीका लागि विक्रम सोबले पनि १६ रन जोडेका थिए। 

बलिङतर्फ प्रदेश नं १ का मनोज तामाङले ३ विकेट लिँदा मिनास थापा र फिर्दोस अन्सारीले २–२ विकेट लिए। २२६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश नं १, २९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन समेटियो। उसका लागि कप्तान पुष्प थापाले ५९ र राजन मगरले २४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। 

प्रदेश १ को इनिङ धराशयी बनाउने क्रममा आर्मीका शुसान भारी एक्लैले ४ विकेट लिए। त्यस्तै, सोमपाल कामी, सागर पुन र साहव आलमले समान २–२ विकेट लिए। 

प्रकाशित: १८ जेष्ठ २०७५ १४:३९ शुक्रबार

प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत