खेल

मोर्गान अस्वस्थ

लन्डन – औँलाको चोटका कारण बिहीबार वेस्ट इन्डिजरिुद्ध लड्समा हुने ट्वान्टी–२० खेल गुमाएका विश्व–११ का कप्तान इयोन मोर्गानले छिट्टै मैदान फर्कने आशा व्यक्त गरेका छन्।

इङ्ल्यान्ड एकदिवसीय टोलीका समेत कप्तान रहेका मोर्गानलाई चिकित्सकले १० दिन आराम गर्न सुझाव दिएपछि उनले वेस्ट इन्जिडविरुद्धको खेल गुमाउने भएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मोर्गानको स्थानमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले विश्व–११ टोली नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ।

औंलाको चोटका कारण मोर्गानले जुन १० बाट स्कटल्यान्डविरुद्ध हुने एकदिवसीय शृंखलासमेत गुमाउन सक्ने बताइएको थियो । त्यस लगत्तै इङ्ल्यान्डले अस्ट्रेलियालाई पाँच एकदिवसीय शृंखलाका लागि आतिथ्यता प्रदान गर्नेछ । ‘मेरो चोट त्यति गम्भीर छैन,’ मोर्गानले भने, ‘चिकित्सकले करिब दुई साता आराम गर्न सुझाव दिएका छन् । म चोटमुक्त हुँदै स्टकल्यान्ड र अस्ट्रेलियाविरुद्ध हुने एकदिवसीय शृंखलासम्ममा टोलीमा फर्कनेमा आशावादी छु।’

विश्व–११ टोलीमा नेपाली स्पिनर सन्दीप लामिछानेसमेत समावेश छन् । बंगलादेशका अलराउन्डर साकिब अल हसनले व्यत्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आइसिसीले उनको स्थानमा सन्दीपलाई टोलीमा समावेश गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७५ ०४:३३ बिहीबार

मोर्गान अस्वस्थ