खेल

इङ्ल्यान्डले जित्ने दाबी

लन्डन– रुबेन लफ्टस चेकले जुझारु युवाहरूले भरिएको इङ्ल्यान्ड विश्वकपको उपाधि जित्न सक्षम भएको दाबी गरेका छन्।

विश्वकपका लागि रूस भ्रमण गर्ने तयारीमा रहेको इङ्लिस टोलीका तेस्रो सबभन्दा कम उमेरका खेलाडी २२ वर्षे चेकले कप्तान ह्यारी केनप्रति विश्वास व्यक्त गर्दै आफूहरू विश्व च्याम्पियन बन्ने सम्भावना प्रशस्त रहेको बताए । ‘हामीले जित्न सक्दैनौं भन्नु भनेको मूर्खता मात्र हो ।

हाम्रो टिम साँच्चै राम्रो छ । हाम्रो टिममा अत्यन्तै राम्रो क्षमता भएका र फर्ममा रहेका युवा खेलाडीको बाहुल्य छ । त्यो हामीले आआफ्नो क्लबबाट यो सिजनको लिगमा प्रमाणित गरिसकेका छौं,’ उनले भने, ‘हाम्रो टोलीमा जितको भोक छ । यसै गरी हार नमान्ने र जितका लागि अन्तिम समयसम्म शतप्रतिशत मिहिनेतका साथ संघर्ष गर्ने स्वभाव छ ।’

कुर्कुच्चाको चोटका कारण विश्वकप गुमाउने आशंका गरिएका चेकलाई इङ्ल्यान्डको भविष्यको स्टारका रूपमा हेरिएको छ । चेल्सीका खेलाडी चेक लोनमा क्रिस्टल प्यालेसमा रहँदा उनले बितेको सिजनमा उच्च प्रदर्शन गरेका थिए । नोभेम्बरमा मैदान उत्रिने मौका पाउँदादेखि उच्च प्रदर्शनमार्फत उनले आफूलाई राष्ट्रिय टोलीको लायक बनाएका थिए।

‘म दबाबमा रहन चाहन्नँ । जहाँसम्म मेरो विश्वासको कुरा छ, विश्वकपसम्ममा म पूरा फिट भइसक्नेछु । एउटा युवा खेलाडीका रूपमा म धेरैथोक सिकिरहेको छु । इङ्ल्यान्डका लागि खेल्न पाउनु मेरा लागि ठूलो कुरा हो । देशका लागि विश्वकै सबभन्दा ठूलो प्रतियोगिता खेल्न पाउँदा मैले स्वाभाविक रूपमा खेलेर आफूमा भएको सबै क्षमता दिनेछु । विश्वकप खेल्न पाउने कुराले मलाई अहिले निक्कै उत्सुक बनाएको छ,’ उनले थपे ।

प्रकाशित: १० जेष्ठ २०७५ ०३:१७ बिहीबार

इङ्ल्यान्डले जित्ने दाबी