काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्।
एक महिनाअघि इण्ढियन प्रिमियर लिग (आइपीएल) खेल्न नयाँ दिल्ली गएका सन्दिप मंगलबार दिउँसो स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का र क्रिकेट प्रेमीले स्वागत गरेका थिए।
स्वागतपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सन्दिपले आइपीएल आफ्नो अविश्मरणीय यात्रा भएको र नेपाललाई चिनाउने प्रयास गरेको बताए। ‘क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएँ। त्यसलाई नेपाली क्रिकेटमा शेयर गर्नेछु’, उनले भने– ‘अाइपीएलमार्फत नेपाललाई चिनाउने मौकालाई सदुपयोग गर्ने प्रयास गरे।’
सन्दिपले दिल्ली डेयरडेभिल्सबाट आइपीएलमा डेब्यु गरेका थिए। उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। यो सिजनमा ३ खेल खेल्ने अवसर पाएका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रकाशित: ८ जेष्ठ २०७५ १२:१६ मंगलबार