खेल

एफए कप फुटबलको उपाधि चेल्सीलाई

काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै चेल्सीले यो सिजनको एफए कप फुटबलको उपाधि हात पारेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति वेम्बले रंगशालामा सम्पन्न खेलको २२ औं मिनेटमा इडेन हजार्डले पेनाल्टीमार्फद गरेको गोलनै चेल्सीलाई उपाधि जिताउन पर्याप्त बन्यो। योसँगै चेल्सीले आठौंपल्ट एफए कपको उपाधि जितेको छ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपनि युनाइटेडले गोल भने फर्काउन सकेन। युनाइटेडका एलेक्सिस सान्चेजले गोल गरेपनि रेफ्रीले अफ साइड दिएका थिए। यस्तै पाउल पोग्बाको दुई वटा उत्कृष्ट प्रहारलाई चेल्सीका गोल रक्षक थियाबट कट्वाले बचाएका थिए ।

यो सिजन चेल्सीले एफए कपको उपाधि जित्दा युनाइटेड भने उपाधि विहीन बनेको छ। साविक विजेता चेल्सी प्रिमियर लिगमा यो सिजन खराब प्रदर्शन गर्दै पाँचौं स्थानमा समेटिएको छ। चेल्सीसँग पराजित म्यानचेस्टर युनाइटेडले भने प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको छ। युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ०४:२८ आइतबार

एफए कप फुटबलको उपाधि चेल्सीलाई