खेल

पुलिस र एपिएफलाई उपाधि

रोल्पा – सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्रमशः महिला र पुरुषतर्फ च्याम्पियन बनेका छन्।

रोल्पाको लिवाङमा बुधबार भएको महिलातर्फको फाइनल खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दा पुरुषतर्फको फाइनलमा आर्मीलाई ३–१ सेटमा स्तब्ध पार्दै पुलिसले गत माघमा सम्पन्न दोस्रो प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पराजित भएको बदला लिएको हो।

महिलातर्फ सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा विभागीय टोली एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–९, २५–८, २५–२० को सोझो सेटमा हराउँदै उपाधि चुम्न सफल भएको हो।

बुधबारै सम्पन्न पुरुषतर्फको फाइनलमा कुलबहादुर थापाको उत्कृष्ट प्रदर्शनबाट पुलिसले आर्मीलाई २५–२१, १७–२५, ३०–२८, २५–२३ को सेटमा हरायो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित प्रतियोगिताका विजेता दुवै टोलीले नगद ३ लाख ५० हजार रुपैयाँ हात पारे । महिलातर्फको उपविजेता पुलिस र पुरुषतर्फको उपविजेता आर्मीले नगद २ लाख रुपैयाँमा चित्त बुझाउँदा महिलातर्फ तेस्रो बनेको आर्मी र पुरुषतर्फ तेस्रो बनेको प्रदेश नम्बर ४ ले नगद १ लाख रुपैयाँ हात पारे।

प्रतियोगितामा महिलातर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन्दा पुरुर्षतर्फ पुलिसका कुलबहादुर थापा उत्कृष्ट खेलाडी चुनिए।

वैशाख २९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा १०–१० टोलीले सहभागिता जनाएका थिए।

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:२२ बिहीबार

पुलिस एपिएफलाई उपाधि