खेल

शशांकको कार्यकाल थप

नयाँ दिल्ली – भारतीय शशांक मनोहर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को अध्यक्षमा पुन दुई वर्षका लागि मंगलबार निर्वाचित भएका छन्। 

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीले यसअघि २०१६ मा दुई वर्षका लागि निर्वाचित भएका शशांक मनोहर आगामी दुई वर्षका लागि पुन निर्वाचित भएको जनाएको हो।

अध्यक्षका रुपमा दुई वर्षे कार्यकाल बिताइसकेका मनोहरले क्रिकेटका तीन धनी राष्ट्र भारत, अस्ट्रेलिया र इङ्ल्यान्डको प्रभुत्वलाई रोक्नका लागि आइसीसीको पुनर्संरचनाको प्रयास गर्ने काम गरेका थिए। 

६० वर्षे पूर्व भारतीय क्रिकेट बोर्डका प्रमुख मनोहरले सफलतापूर्वक आइसीसीको शासनलाई परिमार्जन गरेका थिए भने पहिलो महिला स्वतन्त्र निर्देशक आइसीसीमा नियुक्त गरेका थिए।

‘आगामी दुई वर्षमा आइसीसीका सदस्य राष्ट्रहरुसँग साझेदारी गर्दै आउँदा दिनमा क्रिकेट खेललाई अझ लोकप्रिय र विश्वलाई एकसूत्रमा बाँध्ने माध्यमको रुपमा क्रिकेट खेललाई चिनाउने प्रयास गर्नेछु’ नवनियुक्त अध्यक्ष मनोहरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘खेलका अभिभावक हामी हौं, खेलमा जस्तै स्वच्छता हामी अभिभावकले हाम्रो कार्यकालमा पूरा गर्नुपर्छ।’

पुनः निर्वाचित मनोहरले गत वर्ष अध्यक्ष पदबाट राजीनामा दिएका थिए। पछि आइसीसी बोर्डले उनलाई आइसीसी अध्यक्ष पदमा पुन उम्मेद्वारी दिन आग्रह गरेको थियो। 

प्रकाशित: २ जेष्ठ २०७५ ०४:२३ बुधबार

शशांकको कार्यकाल