खेल

रत्नजित र विकास सेमिफाइनलमा

काठमाडौं – त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र भोजपुरका विकास श्रेष्ठले बिहीबार सातौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

इटहरीस्थित इटहरी ब्याडमिन्टन एकेडेमीको कर्भडहलमा सम्पन्न खेलमा आर्मीका रत्नजितले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् भने राष्ट्रिय पूर्वच्याम्पियन विकासले पुलिसकै विष्णु कटुवाललाई पहिलो सेटमा २१–१९ को स्कोर गर्दा दोस्रो सेट १४–२१ मा सुम्पिएका थिए । निर्णायक तथा अन्तिम सेटमा २–१ स्थितिमा विष्णु रिटायर्ड हर्ट भएपछि विकासले अन्तिम चारमा स्थान बनाउन सफल भए।

बिहीबारै सम्पन्न अर्को खेलमा आर्मीका नवीन श्रेष्ठले एपिएफका साजनकृष्ण ताम्राकारलाई १५–२१, २१–१०, २१–१८ र एपिएफका दीपेश धामीले त्रिभुवन आर्मीका प्रफुल्ल महर्जनलाई २१–१३, १६–२१, २१–१४ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे।

उता महिला एकलतर्फ त्रिभुवन आर्मीकी नङ्सलदेवी तामाङले भोजपुरकी सीता राईलाई २१–१३, २१–१० ले पराजित गर्दै सेमिफाइनलमा झापाकी जेसिका गुरुङसँगको भेट पक्का गरिन् । जेसिकाले आर्मीकी अनुमाया राईमाथि १३–२१, २१–११, २६–२४ को संघर्षपूर्ण जित निकालिन् । यस्तै आर्मीकी रसिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१६ ले र झापाकी सुनैना मुखियाले सेनाकी अमिता गिरीलाई २१–१७, २१–१९ ले पराजित गर्दै अन्तिम चारमा भेट पक्का गरे।

पुरुष यु–१९ अन्तरतगत जेष्ट ब्याडमिन्टनका सुनील जोशी, सेनाका रुकेश महर्जन, सुनसरीका प्रनिशसिंह ठकुरी र सेनाका प्रफुल महर्जनले पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यस्तै, महिला यु–१९ तर्फको खेलमा झपाकी जेसिका गुरुङले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे तथा सेनाकी रसिलाले विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित: २८ वैशाख २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App