खेल

ब्रोम रेलिगेसनमा

लन्डन – रेलिगेसनबाट बाँच्ने संघर्षमा रहेका दुई टिमबीचको खेलमा स्वान्सीलाई हराएर शीर्ष डिभिजनको हैसियत जोगाउने करिब पक्का गरे पनि साउथह्याम्पटनका प्रशिक्षक मार्क ह्युज्सले अझै ढुक्क हुन नसक्ने बताएका छन्।

मानोलो गाबियाडिनीले समय सकिन १८ मिनेट बाँकी रहँदा गरेको एउटै गोल भ्रमणकारी साउथह्याम्पटनलाई जित दिलाउन पर्याप्त भयो । जुन नतिजाले वेस्ट ब्रोमको रेलिगेसन पक्का गर्नुका साथै स्वान्सीको पनि प्रिमियर लिगबाट घटुवा हुने सम्भावना बढाएको थियो । जितपछि सिजनको एक खेल बाँकी रहँदा साउथह्याम्पटन ३६ अंकका साथ रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि छ । जुन रेलिगेसन क्षेत्रमा रहेको स्वान्सीभन्दा तीन अंक बढी हो।

आइतबार सिजनको अन्तिम दिन साउथह्याम्पटनले च्याम्पियन म्यानचेस्टर सिटीलाई घरमा निम्त्याउनेछ भने स्वान्सीले पनि घरेलु मैदानमा यसअघि नै रेलिगेसनमा परिसकेको स्टोकसँग खेल्नेछ।

‘यो खेल पक्कै पनि हाम्रा लागि महत्वपूर्ण थियो । महत्वपूर्ण खेल जित्दा खुसी हुनु स्वाभाविक हो । यो खेलमा हामीले खुसी मनाउनुको अर्थ पनि त्यति मात्र हो । यो खेल जितेको भरमा हामी रेलिगेसनबाट जोगिइसक्यौं भन्न सकिँदैन,’ मंगलबार स्वान्सीमाथि जित हासिल गरेपछि टोलीले खुसी मनाएको शैलीमाथि गरिएको प्रश्नमा ह्युज्सको जबाफ थियो, ‘हामी सिजनको अन्तिम खेल च्याम्पियनसँग खेल्दै छौं । म्यानचेस्टर सिटी यो सिजनको सबभन्दा खतरनाक विपक्षी हो । हामी उनीहरूसँगको खेलमा निक्कै सचेत भएर मैदान उत्रिनुपर्छ । किनकी उनीहरू यो लिगमा सबभन्दा बढी गोल गर्न सक्ने टोली हुन्।’

पछिल्ला तीन खेलमा सात अंक जोडिसकेको साउथह्याम्पटनका प्रशिक्षक ह्युज्सले स्वान्सीमा बुक गरेको होटलको बुकिङ रद्द भएकोमा आक्रोश पोखे । स्वान्सी सहरको केन्द्रमा रहेको मारियोट होटलमा भाइरसको समस्याका कारण अन्तिम समयमा बुकिङ रद्ध हुँदा साउथह्याम्पटनको टोली ५६ किलोमिटर टाढा बस्नुपरेको थियो । लामो यात्रापछि पुग्दा उनको टोलीले १ सय मिटर हिँडेरै रंगशाला प्रवेश गर्नुपरेको थियो । खेलअघि टेलिभिजनको अन्तर्वार्तामा ह्युज्सले त्यसप्रति आक्रोश पोखेका थिए।

‘यो मेरो चिन्ताको विषय होइन । स्वान्सीले जसरी पनि सब व्यवस्था मिलाउनुपर्ने थियो,’ होटल बुकिङ विवादमा ह्युज्सले भने, ‘सायद स्वान्सीका समर्थकको डाहाका कारण यस्तो भएको होला । मनोबल उच्च बनाउनका लागि यस्तो गरिन्छ।’

घरेलु मैदानमा साउथह्याम्पटनसँग पराजित भएपछि स्वान्सीले प्रिमियर लिगको हैसियत जोगाउन अन्तिम खेलमा स्टोकमाथि जित हासिल गर्नुका साथै हडर्सफिल्डले बाँकी दुवै खेल हारेको हेर्न पाउनुपर्नेछ । त्यसो भए अंक बराबर भए पनि स्वान्सीले हडर्सफिल्डलाई गोलअन्तरमा पछि पार्न सक्नेछ । हडर्सफिल्डले बाँकी दुई खेलमा चेल्सी र आर्सनलको सामना गर्नेछ।

‘आफ्नो नतिजामात्र पर्याप्त नभएर अरुको नतिजा कुर्नुपर्ने अवस्थाको सामना गर्नु भनेको अत्यन्तै डरलाग्दो समय हो,’ स्वान्सीका प्रशिक्षक कार्लोस कार्भाहलले भने, ‘तर हामीले अझै आफूमाथि विश्वास गर्नुपर्छ । त्यसो भयो भने हामी प्रिमियर लिगमा जोगिन सक्छौं । हामीले अन्तिम खेलमा आफ्नो तर्फबाट शतप्रतिशत प्रदर्शन गरेर जित्नुपर्छ । त्यसपछि जादुको अपेक्षा गर्नुपर्छ।’

प्रकाशित: २७ वैशाख २०७५ ०३:५५ बिहीबार

ब्रोम रेलिगेसनमा