खेल

अनुप स्मृति गोल्डकप आजदेखि सुरु हुँदै

खोटाङ – खोटाङ सदरमुकाम दिक्तेलमा बुधबार (आज) बाट ३ लाख १६ हजार ६ सय ६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोस्रो संस्करण सुरु हुँदैछ। 

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक दिक्तेल फुटबल क्लब र माउन्ट एभरेस्ट बोर्डिङ स्कुलले जनाएको छ। २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउन्ट एभरेस्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा वैशाख ३१ गतेसम्म अनुप स्मृति गोल्डकप खुला पुरुष फुटबल प्रतियोगीता सञ्चालन हुने भएको हो।

मृतक छात्रको सम्झनामा गत वर्ष रनिङ कप फुटबल प्रतियोगिता सञ्चालन गरिएकामा यस पल्टदेखि अनुप स्मृति गोल्डकप सञ्चालन गर्न लागिएको संयोजक एवं माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए।

फुटबलका व्यावसायिक खेलाडी उत्पादन गर्दै फुटबलको व्यवसायीकरणका लागि दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार १ सय ११, उपविजेताले नगद ७५ हजार ५ सय ५५ र दुई सेमिफाइनलिस्टले नगद २५–२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुर्नामेन्टलगायत ८ विधालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक एवं माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका प्रिन्सिपल जोशीले बताए।

प्रकाशित: २६ वैशाख २०७५ ०५:२९ बुधबार

अनुप स्मृति गोल्डकप आजदेखि सुरु हुँदै