खेल

फर्गुसन कोमा बाहिर

काठमाडौं – अचानक मस्तिष्कघात भएपछि आकस्मिक शल्यक्रिया गर्नुपरेका म्यानचेसटर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको मंगलबार होस खुलेको र परिवारसँग कुरा गरेको जनाइएको छ।

शनिबार मस्तिष्कघात भएको ७६ वर्षे फर्गुसनलाई अझै अति सघन कक्षमा राखिएको छ । तर प्रिमियर लिगको क्लब युनाइटेडले उनको पछिल्लो अवस्थाबारे थप जनाकारी दिएको छैन । बेलायतको मेल अनलाइनले २०१३ मा फुटबलबाट संन्यास लिएका स्कटल्यान्डका प्रशिक्षक कोमाबाट बाहिर आएको र स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ।

‘शल्यक्रिया धेरै राम्रो भयो । शल्यिक्रियापछि ७६ वर्षे फर्गुसनको स्वास्थ्यमा आएको सुधार सन्तोषजनक छ,’ सन पत्रिकामा भनिएको छ, ‘तथापि उनी पूर्ण रूपमा ठीक हुन केही समय लाग्नेछ । तर सुधार सन्तोषजनक छ।’

बेलायती फुटबलको इतिहासकै सबैभन्दा सफल प्रशिक्षकको दर्जा पाएका फर्गुसनले युनाइटेडको प्रमुख प्रशिक्षकका रूपमा २६ वर्ष बिताएर २०१३ मा संन्यास लिनुअघि १३ प्रिमियर लिग र २ च्याम्पियन्स लिगसहित ३८ ठूला उपाधि जितेका थिए।

फुटबलका सबैले फर्गुसनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । युनाइटेडका मिडफिल्डर माइकल क्यारिकले पनि पूर्वप्रशिक्षकप्रति सम्मान व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘विश्व फुटबलभित्र र बाहिर सबै क्षेत्रबाट उनीप्रति चासो व्यक्त भएका छन् । सहयोग भएको छ,’ म्यानचेस्टर युनाइटेड टेलिभिजनसँग क्यारिकले भनेका छन्, ‘सबैले गरेको प्रार्थनाको प्रभाव हो यो । मेरो करियरमा उनको जति ठूलो हात छ क्लबका लागि पनि उत्तिकै छ । हामी सबैले उनका लागि प्राथना गरिरहेका छौं । उनको बारेमा सोचिरहेका छौं । यो सबैका लागि कठिन समय हो तर म सकारात्मक छु र उनी छिट्टै ठीक हुने विश्वासमा छु।’

फर्गुसनले १३ प्रिमियर लिग उपाधि जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका रायन गिग्सले बिबिसीसँग भनेका छन्, ‘उनको शल्यक्रिया सफल भएको छ । उनी लडाकू हुन् र छिट्टै स्वस्थ हुनेमा म विश्वस्त छु,’ १९९१ मा १७ वर्षको उमेरमा डेब्यु गरेका गिग्सले भने, ‘उनको पूर्ण स्वास्थ्यलाभका लागि कामना गर्दछु । मेरो करियरमा उनले ठूलो प्रभाव छ, चाहे त्यो मैदानभित्र होस् या बाहिर।’

प्रकाशित: २६ वैशाख २०७५ ०५:०१ बुधबार

फर्गुसन कोमा