खेल

पुलिस र एपिएफ सेमिफाइनलमा

काठमाडौं – लगातार दोस्रो खेल जित्दै  विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले राजधानीमा जारी चौथो केएनपी जापान महिला राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको खेलमा पुलिसले आर्मीलाई तथा एपिएफले पश्चिमाञ्चल भलिबल संघलाई पराजित गर्दै समूह बिजेताको रुपमा अन्तिम चारमा स्थान बनाएका हुन्।

उद्घाटन खेलमा साविकको उपविजेता शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको पुलिसले दोस्रो दिनको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ कै सेटमा पराजित गर्दै समूह ‘बी’को बिजेता बन्न सफल भएको हो।

पहिलो सेटमा २५–२३ को रोमाञ्चक जित निकालेको आर्मीले बाँकी सेट २०–२५, १६–२५, १९–२५ ले सुम्पिदा पुलिसले लगातार दोस्रो जित दर्ता गराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । जित पछि नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेश विष्टले पहिलो सेट तालमेलमै विते पनि बाँकी सेटमा उत्कृष्ट खेल्दै सेमिफाइनल यात्रा तय गर्न सम्भव भएको बताए । रुपेशले भने, ‘पहिलो खेलमा भन्दा दोस्रो खेलमा टोलीले सुधारिएको प्रदर्शन गर्न सफल भयो, पहिलो खेलको कमजोरी ब्लक र रिसिभलाई सुधार गर्न सक्षम भयौं, अनि आर्मीको ब्लकलाई रोक्ने रणनीति पनि सफल बन्यो।’

सोही टोलीकी कप्तान कोपिला उप्रेतीले पहिलो खेलमा भन्दा राम्रो तालमेल बनेकाले बलियो प्रतिद्वन्द्वीलाई पराजित गर्न सफल भएको बताइन् । कोपिलाले भनिन्, ‘स्पाइकर कामना विष्ट र कमला पुनको उत्कृष्ट खेलको मद्दतले पहिलो सेट गुमाएपनि बाँकी सेटमा पुनरागमन गर्दै सेमिफाइनलमा प्रवेश पाएका छौं, आज बलियो मानिएको आर्मीलाई ब्लक गर्ने रणनीति सफल बन्यो।’

यस्तै, पराजित टोलीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले टोलीको आफ्नै कमजोरीले पराजित हुनु परेको बताए । कपिलले भने, ‘भरखरैमात्र संयोजन गरिएको टोली हो, स्थान परिवर्तन गर्दै खेलाडीलाई कोर्ट उता¥यौं, जसले गर्दा खेलाडीको आपसी तालमेल मिलेन्।’

‘खेलाडीमा अनुभवको पनि कमि छ, रणनीति अनुसार खेलाडीले आफ्नो क्षमतालाई प्रदर्शन गर्न सकेनन्’ आर्मी प्रशिक्षक कपिलले थपे।

यस्तै, शनिबारै सम्पन्न अर्को खेलमा साविकको च्याम्पियन एपिएफले चिरपरिचित प्रतिद्वन्द्वी पश्चिमाञ्चलाई २५–१६–२५–८, २५–१२ को सोझो सेटमा हराउँदै मंगलबार सम्म चल्ने प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । यस अघि पहिलो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई अन्डर–१० मा पराजित गरेको एपिएफले लगातारको दोस्रो खेलमा पश्चिमाञ्चलमाथि पनि ३–० को  सहज जित दर्ता गराउन सफल भएको हो।

शेरबहादुर स्मिृति प्रतिष्ठानको आयोजना र केएनपी जापानको मुख्य प्रयोजनमा सञ्चालन भएको प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । त्यसका लागि पहिलो खेलमा शिवम् न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ भने लिगको अन्तिम खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले पश्चिमाञ्चल भलिबल संघ सँग प्रतिस्पर्धा गर्नेछ । दुई खेलका विजेताले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाउने छन्।

प्रकाशित: २३ वैशाख २०७५ ०४:०४ आइतबार

पुलिस एपिएफ सेमिफाइनलमा