खेल

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ।

गएराति भएको खेलमा दिल्ली डेयर डेभिल्सलाई ७ विकेटले हराउँदै हैदरावाद विजयी भएको हो।  

हैदरावादको घरेलु मैदान राजीव गान्धि इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले व्याटिङ्गमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो।

जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेटायो।

हैदरावादको जितका लागि अलेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन वलियम्सनले ३२ र युसुफ पठानले २७ रन योगदान गरे।

बलिङतर्फ अमित मिश्राले २ र लियाम प्लंकेटले एक विकेट लिए।

दिल्लीका लागि पृथ्वी शाहले सर्वाधिक ६५ रन बनाए। श्रेयस ऐयरले ४४ रन जोडे। विजय शंकरले नटआउट २३ रन जोड्दा रिसभ पन्त १८ रनमा आउट भए।

बलिङतर्फ रसिद खानले २ तथा श्रदुल कौलले १ विकेट लिए।

यो जितसँगै आइपीएल अंक तालिकामा ९ खेलबाट १४ अंक जोडेको सनराइजर्स हैदरावाद शीर्ष स्थानमा छ।

प्रकाशित: २३ वैशाख २०७५ ०२:०९ आइतबार

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा