खेल

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा, बेन्जेमाको २ गोल

मड्रिड – साविक विजेता रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। स्पेनीस क्लब रियल समग्रमा जर्मन क्लब बार्यन म्युनिखलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

प्रतियोगिताअन्तर्गत मंगलबार राति घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा रियल बार्यनसँग २–२ गोलको बराबरीमा रोकिएपनि पहिलो लेगमा हात पारेको २–१ को नतिजाले रियललाई अन्तिम दुईमा प्रवेश गर्न प्रयाप्त बन्यो।

घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा २–१ ले पछि परेको बार्यनलाई फाइनलमा पुग्न रियलमाथि जित हात पार्नैपर्ने दबाव थियो। तर रियललाई दबावमा राखेपनि बार्यन बराबरीको नतिजामा सिमित भयो। खेल सुरु भएको तेस्रो मिनेटमा जोसुवा किमिचले गोल गरेपछि बार्यनले अग्रता लिएको थियो। तर ११ औं मिनेटमा मार्सेलोको क्रसमा करिम बेन्जेमाले हेडमार्फत गोल गर्दै खेल एक–एक को बराबरीमा ल्याएका थिए।

पहिलो हाफको खेल बराबरीमा रोकिएपनि दोस्रो हाफको सुरुवातमै बार्यनका गोलकिपरको गल्तीको फाइदा उठाउदै रियलका बेन्जेमाले ब्याक्तिगत दोस्रो गोल गरे। खेलको ६७ औं मिनेटमा बार्यनका जेम्स रोड्रिगेजले पूर्व क्लबविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित सयमको खेलमा दुवै टोलीबाट गोल हुन सकेन र जिनेदिन जिदानको टोली रियलले फाइनलको यात्रा तय गर्यो।

३ सशक्त प्रहार रियलका गोलकिपर केरोन नाभासले बचाएपछि बार्यन जित हात पार्नबाट बन्चित भयो। नाभासले खेल अवधिभर बार्यनका ८ प्रहार विफल पारेका थिए। रियल १२ पटकको च्याम्पियन लिग विजेता टोली हो।

रियल मड्रिडले अब उपाधिका लागि आज राति हुने लिभरपुल र रोमाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो लेगमा हात पारेको ५–२ को नतिजाले लिभरपुललाई फाइनलमा पुग्न सहज देखिएको छ। खेल आज राति इटालीको रोममा हुनेछ।

प्रकाशित: १९ वैशाख २०७५ ०५:०९ बुधबार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा बेन्जेमाको गोल