खेल

विधानसम्मत चुनाव गर्न आह्वान

पत्रकार सम्मेलनमा एन्फा अध्यक्षका उम्मेदवार मणि कुँवरलगायत। तस्बिरः नागरिक

काठमाडौं – अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्ष पदका उम्मेद्वार मणि कुँवरले मंगलबार वैशाख २२ गतेलाई तोकिएको केन्द्रिय कार्यकारिणी समितिको निर्वाचन विधिसम्मत नभएको भन्दै उक्त मितिमा हुने चुनावमा भाग नलिने संकेत गरेका छन्।

कुनै पनि संस्थाको निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन समितीलाई नभएको भन्दै एन्फाका उपाध्यक्ष समेत रहेका कुँवरले संघको विधानअनुसार साधारण सभा बोलाउनका लागि ६० दिनको सुचना दिनुपर्ने र निर्वाचन समितिलाई मिति तोक्ने अधिकार नभएकाले बैशाख २२ गतेका लागि तोकिएको निर्वाचन विधिसम्मत नभएको बताए।

‘निर्वाचनको मिति तोक्न र चुनाव गर्ने विषयमा निर्णय गर्न संघको कार्यकारिणी समितिको बैठकबाट कुनै निर्णय गरिएको छैन ।अघिल्लो मिति सम्मानित अदालतको आदेशसँगै स्थगित भइसक्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा विधान पास गर्नका लागि अनुरोध गरे पनि अझै पास हुन सकेको छैन,’ छोटो समयमा विकट जिल्लाबाट प्रतिनिधि आउन नसक्ने भन्दै कुँवरले थपे, ‘साधारण  सभा बोलाउन विधानमा ६० दिनको सुचना दिनुपर्ने प्रष्ट व्यवस्था छ । २२ गते हुने चुनावका लागि १४ गते पत्र काटिएको छ । विकट जिल्लाबाटसमेत २ सय ३१ प्रतिनिधी अउनका लागि ८ दिनको सुचना पर्याप्त हुन्छ?’

एन्फा विधानको धारा २६ को उपधारा २ मा साधारण सभाको मिति, समय र स्थान र्कायकारी समितिले तोक्नेछ र सो को जानकारी घटिमा ६० दिनअगाडि सदस्यहरुलाई गराइने उल्लेख छ । साथै उपधारा ३ मा साधारण सभाको बैठक हुनुभन्दा घटिमा पनि १० दिन अगाडी लिखित रुपमा औपचारिक आह्वान गरिने उल्लेख छ । अध्यक्षका उम्मेद्वार कुँवरले त्यही बुँदालाई टेकेर निर्वाचन भएको अवस्थामा आफु अनुकुल नतिजा नआए अर्को पक्षले अदालतमा मुद्दा हाल्ने र विवाद अनन्त कालसम्म लम्बिने जिकिर गरे।

‘वैशाख २२ गते षड्यन्त्रपूर्वक मञ्चन गर्न लागिएको निर्वाचनको नाटकप्रति म र मेरो टिमको गम्भीर ध्यानकर्षण भएको छ । विधि र विधानको उल्लघंन गर्दै गरिने चुनावले हामीलाई कुर्सीमा त पु¥याउला तर त्यस्तो चुनावले न काम गर्नै वातावरण दिनेछ न फुटबलको हित नै गर्नेछ,’ कर्मा पक्ष आफु अनुकुल नभए मुद्दा हाल्न माहिर रहेको भन्दै कुँवरले थपे, ‘आफैले भाग लिएको निर्वाचनमा समेत हारेपछि मुद्दा हालेर विवाद निम्त्याएको धेरै उदहारण हामीसामु छन् । अहिले प्रतिस्पर्धामा रहेका केही साथीहरु मुद्दा हाल्नमा महारथी हुनुहुन्छ । यसपाली हामी चुनाव जित्नेमा विस्वस्त छौं तर मुद्दा हालेर काम गर्न दिनुहुन्न भन्ने भयका कारण निर्वाचन विधिसम्मत होस भन्ने चाहन्छौं।’

एन्फा निर्वाचन समितिले बैशाख ९ गते २२ गतेका लागि निर्वाचन गर्न उपयुक्त समय भएको भन्दै सचिवालयलाई चुनावका लागि मिति तोक्न अनुरोध गरेको थियो । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पा पक्षले २२ गते नै निर्वाचन गराउन दबाब दिएपछि १२ गते निर्वाचन समितिले ललितपुर उच्च अदालतको अन्तरिम आदेश निष्कृय भइसकेकाले बैशाख २२ गते निर्वाचनको व्यवस्था गर्न एन्फा अध्यक्षलाई अनुरोध गरेको छ । जसलाई कुँवर पक्षले ज्यान धनको धम्की दिएर जवर्जस्ती चुनावको मिति घोषण गरेको आरोप लागाएको छ।

‘निर्वाचन समिति मध्य रातीसम्म कोठामा थुनेर ज्यु धनको धम्की दिदैं बाध्यात्क तरिकाले चुनावको मिति घोषणा गराउने काम भएका छन्,’ २०५१ सालमा ब्वाइज युनियन क्लबबाट एन्फामा प्रवेश गरेका कुँवरले निर्वाचन समितिको पत्रलाई उदृत गर्दै भने, ‘उनीहरुलाई प्रहरी प्रशासनले उद्धार गरेको छ । उनीहरुले यसअघि पनि एन्फा एकेडेमीका खेलाडीलाई निकालेर व्यक्तिगत स्वार्थका लागि छुट्टै संघ गठन गरेर फिफा र एएफसीको मान्यता नचाहिने भन्दै हिडेको दुखद दिनको याद दिलायो । भोलीका दिनमा यस्तो नहोस भनी बैधानिक रुपमा अविलम्ब चुनाव गराउन भनेका छौं।’

एन्फाले वैशाख १४ गतेका निर्वाचनका लागि मिति तोक्दै साधारण सभाको बैठक बोलाएको थियो । तर, भक्तपुर जिल्ला फुटबल संघको अपिलका आधारमा चैत ८ गते ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार बनको एकल इजलासले तत्कालका लागि निर्वाचन रोक्दै १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । भक्तपुरसँगै मकवानपुर जिल्ला फुटबल संघले पनि आफूलाई सहभागी नगराई साधारणसभा गर्न लागेको भन्दै उजुरी दिएको थियो । त्यसपछि एन्फाका महासचिव धीरेन्द्र प्रधानले चैत ११ गते अदालतको आदेशको हवला दिँदै १४ गतेका लागि तोकिएको चुनाव र साधारण सभा स्थगित भएको जनाएका थिए।

कुँवरले १४ गतको निर्वाचन पनि कुर्मा पक्षकै कारण स्थिगित भएको बताए । उनले थपे, ‘भक्तपुर जिल्ला फुटबल संघले नभई त्यसमा आवद्ध क्लबहरुले अदालतमा मुद्धा हालेका थिए । जुन उनीहरुले गरेका पछिल्ला गतिविधिबाट प्रष्ट भइसकेको छ।’

२२ गते नै निर्वाचन भयो भने संस्थापन पक्षको भुमिका के हुन्छ भन्ने प्रश्नमा कुँवरले भने, ‘फुटबललाई दिगो निकास दिनुपर्छ भन्ने मान्यतामा हामी चट्टान झै अडिक छौं । फुटबलको सर्वोच्च निकाय फिफा र अदालतले पनि विधान विपरित चुनाव गर भनेको छैन । बैधानिक रुपमै गर्न हामीले अपिल गरेका छौं । २२ मै हुने भयो भने सबै जना बसेर निर्णय लिनेछौं।’

कर्मा पक्षले सामाजिक सञ्जालमा गरेको चुनावी अभियानप्रति रुष्ट कँवरले चेन्ज एन्फाको नाममा फुटबललाई भड्खालोमा हाल्ने प्रयास भएको बताए । ‘फेसबुकमा अरुलाई गालिगौलोज गरेर फुटबलमा परिवर्तन हुदैन । फिफाको मोटो फेयर प्ले हो । चुनावमा रहेका सबै साथीलाई लेट्स प्ले फेयर गेम भन्न चाहन्छु । विधान विपििरत चुनाव गरेर चेन्ज एन्फाका नाममा फुटबललाई भड्खालोमा नहालौ भनेर सबैलाई अनुरोध गर्दछु।’

प्रकाशित: १९ वैशाख २०७५ ०४:१९ बुधबार

विधानसम्मत चुनाव गर्न आह्वान