खेल

रियललाई बराबरी र बार्यनलाई जित आवश्यक

मड्रिड – च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति रियल मड्रिड र बार्यन म्युनिख भिड्दै छन्। खेल रियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति साढे १२ बजेपछि सुरु हुनेछ।

बार्यनको घरेलु मैदानमा पहिलो लेगमा २–१ को जित हात पारेको साविक विजेता रियललाई फाइनल प्रवेशका लागि आजको खेलमा बराबरी गरे पुग्नेछ। यता बार्यनलाई भने अन्तिम २ मा प्रवेश गर्न जित आवश्यक छ। घरेलु मैदान, दर्शक तथा पहिलो लेगका हात पारेका जितले रियललाई रोक्न बार्यनलाई ठूलो संघर्ष गर्नुपर्ने छ।

रियलले पछिल्लो समय घरेलु मैदानमा भएका खेलमा सोचे अनुसारको खेल देखाउन नसकेकाले बार्यनले कडा टक्कर दिँदै कमब्याक गर्नसक्ने विश्लेषण गरिएको छ।

अघिल्लो संस्करणको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियालले बायर्नलाई समग्रमा ६–३  ले हराउँदै उपाधि होडमा तगारो बनेको थियो। बार्यनले यो सिजन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितिसकेको छ। रियल भने यो सिजनको ला लिगाको उपाधि जित्न सकेन त्यसैले आफ्नो साख जोगाइराख्न रियललाई च्याम्पियन्स लिगको उपाधि जित्नु आवश्यक देखिएको छ।

प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगमा कुनै पनि खेल हारेको छैन। रियल र बार्यन युरोपियन फुटबल प्रतियोगितामा २६ औं पटक आमने सामने हुन लागेका हुन्।

प्रकाशित: १८ वैशाख २०७५ ०७:०२ मंगलबार

रियललाई बराबरी बार्यनलाई जित आवश्यक