खेल

नेपोलीको लक्ष्य संकटमा

मिलान – फिरोरेन्टिनालाई आइतबार ३–० को अप्रत्यासित नतिजा सुम्पिएसँगै नेपोलीको इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्य संकटमा परेको छ।

यस जितपछि ३५ खेलमा ५४ अंक जोडेको फिरोरेन्टिना नवौ स्थानमा छ । समान खेलमा  ८४ अंक जोडेको नेपोली दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानको युभेन्टस् भन्दा ४ अंक कम हो ।समान ७० अंक जोडेका एएस रोमा र लाजियो क्रमश तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै ६६ अंक जोडेको इन्टर मिलान पाँचौ,५८ अंक जोडेको अट्लान्टा छैटौ र ५७ अंक जोडेको एसी मिलान सातौ स्थानमा छ।

गत साता युभेन्टस्लाई १–० ले परारजित गर्दै उपाधि सम्भावना जीवित राखेको थियो । तर नेपोलीले आइतबार भने उत्त लयलाई निरन्तरता दिन नसक्दा उपाधि सम्भावान धरमराएको हो । युभेन्टसलाई पराजित गर्दा नायक साबित बनेका सेनेगलका रक्षक कालिगो कौबेलेले खेलको आठौ मिनेटमा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि नेपोलीले १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेको थियो । फिरोरेन्टिानको जितमा जियोभानी सिमोनीले ह्याट्रिक पुरा गरे।

३४ औं मिनेटमा सिमोनीले क्रिस्टियानो बार्घीको पासमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए।
६२ औं मिनेटमा सिमोनीले व्यत्तिगत दोस्रो गोल गर्दै फियोरेन्टिनाको अग्रता दोब्बर पारेका थिए । सिमोनीले फेड्रिको सेइसाको पासलाई पोस्टको दिशा दिएका थिए।

इन्जुरी समयको तेस्रो मिनेटमा सिमोनीले ह्याट्रिक पुरा गर्दै फिरोरेन्टिनको सहज जित पक्का गरेका थिए ।मिलान बाड्लेजको प्रहार नेपोलीका गोलकिपर पेपे रैनाले रोक्दा प्राप्त बललाई जाली चुमाएका थिए।

‘खेलको सुरुआतमै रक्षक कालिगो कौबेले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि टोलीले लय गुमायो,’नेपोलीका प्रशिक्षक माउरिसियो सारीले भने, ‘हामीले रणनिती अनुसार प्रदर्शन गर्न सकेनौ । आजको हारले हाम्रो उपाधि सम्भावनाा कमजोर बनाएको छ।’

‘बाकी रहेका तीन खेलमा स्वभाविक प्रदर्शन गर्दै सबै खेलमा स्पष्ट तीन अंक जोड्न सके पनि हाम्रो उपाधि सम्भावान जीवत रहेने छ,’सारीले भने, ‘तर त्यसको लागि युभेन्टसको नतिजा हाम्रो अनुकुलमा आउन आवश्यक छ ।’

त्यस्तै लाजियोले टोरिनोलाई १–० ले पराजित गर्यो । ५६ औं मिनेटमा सेर्जिग मिल्कोभिच–साभिचले गरेको गोल लाजियोको जितमा पर्याप्त बन्यो।

सिरी ‘ए’ अन्तर्गत आइतबार सम्पन्न अन्य खेलमा अट्लान्टाले जिनोवालाई ३–१ ले पराजित गर्दा क्रोटोनीले सासौलोलाई ४–१,एसी मिलानले बोलोग्नालाई २–१ र साम्पडोरियाले काग्लियारीलाई ४–१ ले पराजित गरे । त्यस्तै यसडिनेसी र बेनभेन्टोले ३–३ को बराबरी खेले।

प्रकाशित: १८ वैशाख २०७५ ०४:३९ मंगलबार

नेपोलीको लक्ष्य संकटमा