खेल

केइटालाई चौथो रातो कार्ड

बर्लिन – नाबी केइटाले जारी सिजनमा चौथो पटक रातो कार्ड सामना गरेपछि उनको टोली आरबी लिपजिगले जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार भएको खेलमा मेइन्जलाई ३–० को स्तब्धतापूर्ण नतिजा सुम्पिएको छ।

मेइन्जका गोलकर्ताद्धय एलेक्जेन्ड्रु म्याक्सिम र बोटे बाकुमाथि फाउल गरेवापत केइटाले इन्जुरी समयमा लगातार दुई पहेलो कार्डसँगै रातो कार्ड दर्शन गरेका थिए । इङलिस प्रिमियर लिगको टोली लिभरपुलसँग सम्झौता गरिसकेका २३ वर्षे केइटा नयाँ सिजनका लागि एन्फिल्ड जाँदैछन्।

‘ति फाउल पूर्ण रुपमा अनावस्यक थिए,’ लिपजिगका कप्तान विली अर्बानले केइटाको रातो कार्ड विषयमा भने, ‘त्यो समय र खेलको अवस्थाले केइटालाई त्यसरी आक्रामक भएर खेल्न माग गरेकै थिएन।’

आइतबार अन्तिम समयमा रातो कार्ड सामना गरेका केइटा शनिबार उल्फसबर्गविरुद्ध हुने खेलका लागि प्रतिबन्धमा समेत परेका छन् । रक्षात्मक मिडफिल्डरले जारी सिजनमा आरबी लिपजिगको जर्सीमा सामना गरेको यो तेस्रो रातो कार्ड थियो । यसबाहेक गुयनाका लागि ट्युनिसियाविरुद्ध विश्वकप छनोट खेल्ने क्रममा पनि उनले रातो कार्ड सामना गरेका थिए।

लिपजिगले विजयरहित भएर मैदान छोडेको यो लगातार पाँचौं खेल हो । जसका कारण टोली जर्मन बुन्डेसलिगा अंकतालिकाको छैटौं स्थानमा खुम्चिएको छ । लिपजिग आगामी सिजनको युरोपा लिगमै खुम्चिने अवस्थामा पुग्दा मेइन्जले भने रेलिगेसन टार्ने सम्भावना बलियो बनाएको छ । यो जितपछि टोली सिजनका दुई खेल बाँकी रहँदा रेलिगेसन क्षेत्रभन्दा तीन अंकले माथि उठ्न सफल भयो।

पाउलो डी ब्लासिसले २९औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोली मेइन्जको खाता खोलेका थिए । जसमा म्याक्सिमले समय सकिन पाँच मिनेट बाँकी रहँदा गोल थपेर अग्रता दोब्बर पारे । बाकुले अन्तिम मिनेटमा गोल गरेपछि मेइन्जको जित पक्का भयो।

जर्मन बुन्डेसलिगामा आइतबारै सम्पन्न अर्को खे लमा वेर्डेर ब्रेम्यानले बोरुसिया डर्टमन्डसँग १–१ को बराबरी नतिजा निकालेको छ । जर्मनीका अन्तर्राष्ट्रिय स्ट्राइकर मार्को रिउसले गोल गरेपछि भ्रमणकारी डर्टमन्डले १९औं मिनेटमा अग्रता लिएको थियो । तर घरेलु टोलीका लागि थोमस डेलानीले मध्यान्तर हुनै लाग्दा बराबरी गोल गरे।

बराबरी नतिजापछि डर्टमन्ड दोस्रो स्थानको साल्केसँग अंक बराबरी गर्ने लक्ष्यमा असफल भयो । ३२ खेलको समाप्तीमा साल्के ५७ अंकका साथ दोस्रो स्थानमा रहँदा डर्टंमन्ड ५५ अंकका साथ तेस्रो स्थानमा कायम छ । यसअघि नै लगातार छैटौं पटक उपाधिमा कब्जा जमाइसकेको बायर्न म्युनिख ८१ अंकका साथ शीर्ष स्थानमा छ। 

प्रकाशित: १८ वैशाख २०७५ ०४:०६ मंगलबार

केइटालाई चौथो कार्ड