खेल

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

काठमाडौं – चेन्नई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत सोमबार राति महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

चेन्नईले दिएको २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९८ रनमा अलआउट भयो। दिल्लीका लागि ऋषभ पन्तले ४५ बलमा ७ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ७९ रन बनाए। त्यस्तै विजय शंकरले ३१ बलमा ५ छक्का र १ चौकासहित नटआउट ५४, कोलीन मुन्रोले २६ र कप्तान श्रेयस आयरले १३ रन बनाउनु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। दिल्लीलाई १९८ रनमा समेटन चेन्नईका केएम आसिफले २ तथा लुंगी निगीदी र रबिन्द्र जडेजाले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रनको उच्च योगफल तयार पारेको थियो। चेन्नईका लागि शेन वाट्सनले ७८ रनको पारी खेले। उनले ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले २२ बलमा २ चौंका र ५ छक्का प्रहार गर्दै नटआउट ५१ तथा अम्बति रायडूले २४ बलमा ५ चौका र १ छक्काको सहायतामा ४१ र फाप डु प्लेसिसले ३३ रनको योगदान दिए। बलिङतर्फ अमित मिश्र, विजय शंकर र ग्लेन म्याक्सवेलले समान १–१ विकेट लिए।

यो जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लियको छ भने दिल्ली भने अंक तालिकाको पुछारमा छ। याे हारले दिल्लीको अघिल्लाे चरण यात्रा कठिन बनेको छ।

आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ।

प्रकाशित: १८ वैशाख २०७५ ०२:०० मंगलबार

चेन्नई शीर्ष स्थानमा दिल्लीको अघिल्लाे चरण यात्रा कठिन