खेल

नेपाल पदक विहिन

काठमाडौं – साबिक विजेता किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा पदकविहिन भएको छ।

तेस्रो संस्करणमा कांस्य पदक जितेको नेपालले शुक्रबार बंगलादेशको मिरपुरस्थित शुरवर्दी इन्डोर स्टेडियममा तेस्रो स्थानका लागि भएको प्लेअफमा कीर्गिस्तानलाई २५–२०, २५–२२, २५–२० को सोझो सेटमा नतिजा सुम्पिएको थियो।

सेमिफाइनलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित हुँदाकै जस्तो गल्तीलाई निरन्तरता दिएपछि नेपालले तेस्रो स्थानको प्लेअफमा निराशा भोग्नु परेको थियो । शुक्रबार पनि नेपाली टोलीले रिसिभ र ब्लकमा सुधार गर्न नसक्दा कम्तिमा गत संस्करणमा कांस्य पदक जित्दै हासिल गरेको उपलब्धिलाई निरन्तरता दिने लक्ष्य हासिल गर्न सकेन।

पदक विहिन भएपछि नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले उद्धघाटन खेलमै आयोजक बंगलादेशसँग पराजित भएपछि खेलाडीको मनोबल उच्च बन्न नसकेको बताए । भट्टले भने, ‘प्रतियोगिताका लागि गरेको तयारीको हिसाबले हामी उपाधिकै लागि दाबेदार हौं, यद्यपि हामीले क्षमताअनुसारको प्रदर्शन गर्न सकेनौं।’

प्रकाशित: १५ वैशाख २०७५ ०४:३९ शनिबार

नेपाल पदक विहिन