खेल

लेवान्डोस्कीको साथले उपाधिको बाटोमा बार्सिलोना

रोबर्ट लेवान्डोस्कीले महत्त्वपूर्ण कोसेढुंगा पार गरेसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधियात्राको सम्भावनालाई अझ बलियो बनाएको छ।

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा गिरोनालाई ४–१ ले हरायो। जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडमाथि तीन अंकको अग्रता कायम गरेको छ।

गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ५३औं मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए। फ्रान्क डी जोङसँग सहकार्य गर्दै लेवान्डोस्कीले ६१औं मिनेटमा गोल गरे। ७७औं मिनेटमा उनले अर्को गोल गरे।

सो गोल उनको यस सिजनको लिगको २५औं हो। फेरान टोरेसले थप गोल गरे। बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ। स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियालले गेटाफेलाई २–१ ले र रियल बेटिसले सेभियालाई २–१ ले हराए।

 भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १–० को सफलता पायो। एथलेटिक क्लब र ओसासुनाबीचको खेल गोलरहित बराबरी भयो। अंकतालिकामा बार्सिलानाको ६६ तथा रियाल मड्रिडको ६३ अंक छ। एट्लेटिको मड्रिडको ५७ अंक छ भने एथलेटिक क्लबको ५३ अंक छ।

प्रकाशित: १९ चैत्र २०८१ ०९:०७ मंगलबार

# Nepali Sports # Nagarik