खेल

पूर्वाधार निर्माण धमाधम

आठौं सागका लागि पूर्वाधार निर्माणका क्रममा आर्चरी मैदान बनाउने माटो सम्याइदै। तस्बिरः धन/नागरिक

पोखरा – राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयसमक्ष आगामी  दक्षिण एसियाली खेलकुद सागसम्बन्धी प्रतिवेदन बुझाइसकेको छ । बुझाइसकेको प्रतिवेदनमा पोखरामा पाँच खेल गराउने निर्णय उल्लेख छ। पाँच खेल पोखरामा गर्न आवश्यक पूर्वाधार निर्माण तथा मर्मतको काम अगाडि बढाइएको छ।

पोखरामा महिला फुटबल, आर्चरी, लन टेनिस र दुई मार्सल आर्ट खेल गर्ने निर्णय गरिएको छ । निर्णयसँगै युवा तथा खेलकुद मन्त्रालयबाट पूर्वाधारका लागि आवश्यक रकमसमेत विनियोजन हँुदै आएको छ । विनियोजित रकमबाट आर्चरीको खेलमैदान तयारी हुँदै छ । लन टेनिसका लागि एक क्ले र अर्को हार्ड कोर्ट निर्माणको लागि टेन्डर भइसकेको छ । निर्माण कम्पनी छनोटको प्रक्रियामा छ । उता बहुउद्देश्यीय कभर्ड हल पनि निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ।

चालू आर्थिक वर्षमा परिषद्ले कास्की जिल्लाका लागि २ करोड ७९ लाख रुपैयाँ सुनिश्चितताको बजेटका  रूपमा छुट्याइसकेको छ । निर्माणको काम नसकिँदै कागजी प्रक्रिया मिलाएर बजेट सक्ने काम मात्रै हुने गरेको ठहर परिषद्ले गर्दै यसपालि सुनिश्चितताको बजेट पठाएको हो।

‘काम पूरा नभएसम्म छुट्टिएको रकम निकासा हुँदैन,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । गत आवमा मन्त्रालयले दुई करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्त्रालयले छुट्याएको रकममा पोखरा रंगाशालाभित्र निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हलको बजेट भने यसमा समावेश छैन । कभर्ड हल १४ करोड ३० लाखमा मुन्न डाँफे एन्ड आचार्य नामक कम्पनीले २०७१ वैशाख १२ देखि निर्माण सुरु गरेको हो । १५ महिनामा सक्ने लक्ष्यसहित सुरु गरिएको हलको लागत अहिलेसम्म एक करोड ९५ लाख रुपैयाँ थप भइसकेको छ।

सागको तयारीलाई भन्दै आर्चरी खेलमैदान पुनर्निर्माण सुरु गरिएको छ । यो आर्थिक वर्ष आर्चरीका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । छुट्याइएको रकमबाट मैदान सम्याई दुबो रोप्ने र बर्खेपानीको निकासको लागि ड्रेन निर्माण गरिएको छ । ‘चार स्टेपको प्यारापिट बनाउने तयारीमा छौं, ’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । गत वर्ष आर्चरीकै लागि मन्त्रालयले ३० लाख रुपैयाँ दिएको थियो । त्यो रकमले तारजाली तथा टार्गेटतर्फ झन्डै डेढ सय मिटर लामो पर्खाल निर्माण गरिएको छ।

परिषद्ले पोखरा रंगशालाभित्रकै लन टेनिसका लागि समेत बजेट उपलब्ध गराएको छ । कास्की जिल्ला लन टेनिस संघकै पहलमा पाँचवटा क्ले कोर्ट बनाइसकिएको छ । परिषद्बाट प्राप्त हुने तीन करोड ४५ लाखबाट हार्डकोर्ट, क्लेकोर्ट र प्यारापिटसमेत बनाइने कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए।

पोखरा रंगशालाभित्र भलिबल प्रशिक्षण केन्द्रसमेत बनाइएको छ । चारवटा कोर्टसहितको प्रशिक्षण केन्द्रलाई परिषद्ले ८५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपलब्ध रकमसँगै स्थानीयको सहयोगमा चार कोर्ट, अफिसियल भवन, शौचालय र आठ स्टेपको प्यारापिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७५ ०४:३१ बुधबार

पूर्वाधार निर्माण धमाधम