खेल

नेपालको सेमिफाइनल सम्भावना

काठमाडौं – नेपाली भलिबल टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित बनाएको छ।

पहिलो सेटमा माल्दिभ्सले चुनौती पेश गरे पनि नेपालले २५–२१ को नजिता निकालेको थियो। बाँकी सेट भने नेपालले सहजै आफ्नो पक्षमा पार्दै आन्तिम चारको सम्भावना जिवित बनाएको छ। दोस्रो सेट २५–१८ ले जितेको नेपालले  तेस्रो सेट २५–१५ ले जितेको थियो। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक बंगलादेशलाई ३–१ को नतिजा सुम्पिएपछि अन्तिम चारका लागि माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो।

‘हिजो पहिलो खेल भएर पनि होला केटाहरुलाई खेल्न अलि गाह्रो भएजस्तो थियो। तर आज खुलेर खेले,’ नेपाली टोलीका कप्तान इम रानामगरले भने, ‘हाम्रो आज रिसिभ र ब्लक पनि राम्रो भयो। माल्दिभ्स नराम्रो टोली होइन। तर आज उनीहरुको रिसिभमा समस्या देखियो।’

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले पनि सुधारिएको प्रदर्शनका कारण नतिजा आएका बताए। उनले पहिलो खेल नै घरेलु टोलीविरुद्ध खेल्दा खेलाडीले खुलेर खेल्न नसके पनि आइतबार टोलीले लय समाएको बताए। ‘आजको जस्तो खेलेको भए हामीले बंगलादेशलाई पनि सोझो सेटमा हराउन सक्थ्यौं,’ प्रशिक्षक भट्टले भने, ‘आज हाम्रो रिसिभ र ब्लकका साथै सर्भिस पनि राम्रो भयो।’

समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ। समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान बनाउनेछन्। बंगलादेशले माल्दिभ्सलाई पराजित गरे नेपाल उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्नेछ। बंगलोदशविरुद्ध ३–१ को सेटमा हारे पनि माल्दिभ्सलाई ३–० ले हराएकाले नेपाल सेमिफाइनल पुग्नेमा प्रशिक्षक भट्ट विश्वस्त छन्।

समूह ‘बी’ को पहिलो खेलमा तुर्किमिनिस्तानले किर्गिस्तानलाई ३–० को सेटमा हराएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा तुर्किमिनिस्तानले पहिलो सेट २५–२३ ले जितेको थियो। तुर्किमिनिस्तानलाई दोस्रो सेट जित्न निकै हम्मेहम्मे परे पनि अन्तत ३५–३३ को स्कोरमा जित्यो। तेस्रो सेट पनि २८–२६ ले जित्यो। तुर्किमिनिस्तानले सोमबार समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। लिगकम नकआउट प्रणालीमा भएको प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App