खेल

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड भिड्ने

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को ११ औं खेल आज दक्षिण अफ्रिका र इङ्ग्ल्याण्डबीच हुँदैछ। यो खेल पाकिस्तानस्थित कराँचीको राष्ट्रिय रंगशालामा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ। 

दुवै टोलीले हालसम्म दुई-दुई खेल खेलेका छन्। दक्षिण अफ्रिकाले एक खेल जितेको छ भने अर्को खेल वर्षाका कारण रद्द भएको थियो। यता, इङ्ग्ल्याण्ड भने पहिलो जितको खोजीमा छ। 

दक्षिण अफ्रिकाको पछिल्लो खेल वर्षाले प्रभावित भएर रद्द भएको थियो। आजको खेल जितेमा यो टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ। 

अर्कोतर्फ, सुरुका दुई खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको इङ्ग्ल्याण्ड सम्मानजनक जितका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छ। यदि इङ्ग्ल्याण्डले ठूलो अन्तरले जित हासिल गर्‍यो भने अफगानिस्तानलाई सेमिफाइनलमा पुग्ने अवसर प्राप्त हुनेछ। 

च्याम्पियन्स ट्रफीमा यी दुई टोली पाँचौं पटक आमनेसामने हुन लागेका छन्। यसअघि चार खेलमा दक्षिण अफ्रिकाले २ र इङ्ग्ल्याण्डले २ खेल जितेका थिए। 

कुल ७० एकदिवसीय खेलमा इङ्ग्ल्याण्डले ३४ र दक्षिण अफ्रिकाले ३० खेल जितेको छ। ५ खेल अनिर्णीत हुँदा १ खेल बराबरीमा सकिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८१ ०९:०९ शनिबार

#ICC Champions Trophy #south africa #england