खेल

विश्वकपको बाटो सार्वजनिक

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी)ले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप छनोटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। जसअनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नु पर्ने भएको छ।

२०२०को अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने विश्वकपका लागि आइसिसीले पाँच महादेशमा क्षेत्रीय प्रतियोगिता गराउँदै विश्वकप खेल्ने ६ टोलीको छनोट गर्नेछ। अफ्रिका र युरोपमा ३÷३ तथा एसिया, युरोप र इस्ट एसिया प्यासिफिकमा २÷२ समूहमा रहेर विश्वका ६२ टोलीले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन्।

नेपाल पहिलो चरणमा एसियाको समूह ‘बी’ मा परेको छ । अक्टोबर ३ देखी १२ सम्म मलेसियमा हुने समूह ‘बी’ मा नेपालले आयोजक मलेसियासँगै भुटान, चीन, म्यानमार, सिंगापूर र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। एसियाको समूह ‘ए’ मा बहराइन, कतार, कुवेत, साउदी अरब, माल्दिभ्स र युनाइटेड अरब इमिरेट्सले (युएई)ले कुवेतमा अप्रिल २० देखी २७ सम्म छनोट प्रतियोगिता खेल्नेछन्। दुवै समूहका शीर्ष तीन टोलीले एसिया क्षेत्रको छनोट प्रतियोगिता खेल्नेछन। एसिया क्षेत्रको शीर्ष २ टोलीले ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछ।

ग्लोबल क्वालिफायरमा एसियाबाट २, अफ्रिकाबाट २, इस्ट एसिया प्यसिफिकबाट १, अमेरिकाबाट २ तथा युरोपबाट १ टोली र आइसिसी ट्वान्टी–२० वरियाताको शीर्ष १० मा नपरेका ६ टोलीले प्रतिस्पर्धा गर्नेछ। ग्लोबल क्वालिफायरका शीर्ष ६ टोलीले २०१८ डिसेम्बर ३१ सम्मको आइसिसी ट्वान्टी–२० वरियाताका शीर्ष १० टोलीसँग अस्ट्रेलियामा हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ८ वैशाख २०७५ ०१:५३ शनिबार

विश्वकपको बाटो सार्वजनिक