खेल

केपी ओली कप फुटबल: मच्छिन्द्र र संकटा सेमिफाइनलमा

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटाले विभागीय टोली एपिएफलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्। दिनको पहिलो खेलमा संकटाले टाइब्रेकरमा एपिएफलाई ५–३ ले हराएको हो।

एपिएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दीप कार्कीले असफल पार्दै जित दिलाए। संकटाले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एन्फा कम्प्लेक्समा नै भएको दोस्रो खेलमा मच्छिन्द्रले पनि ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्‍यो।

मच्छिन्द्रका स्टेफेन जमाह जलीको गोल नै निर्णायक बन्यो। केपी ओली कपमा दुई विदेशी टोली भुटानको ट्रान्सफर युनाइटेड र उब्जेकिस्तानको ब्ल्याक बुल्सले प्रतिस्पर्धा गरेका थिए। तर, दुवै टोलीको यात्रा पहिलो खेलमा नै सीमित रह्यो। यसअघि सोमबार पाहुना टोली ब्ल्याक बुल्स एपिएफसँग टाइब्रेकरमा पराजित भएको हो। तर, एपिएफको यात्रा दोस्रो खेलमा नै पूर्णविराम लाग्यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो। त्यसपछि खेल टाइब्रेकरतर्फ धकेलियो। तर, यसपल्ट भने एपिएफ सफल हुन सकेन र संकटालाई नतिजा सुम्पिन पुग्यो। दोस्रो खेलमा मच्छिन्द्रले पाहुना टोलीविरुद्ध साँघुरो जित निकाल्यो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा भने मच्छिन्द्रले गोल गर्‍यो। तर, गोलका लागि लामो समय पर्खनुपर्‍यो। स्टेफेन जमाहले ८०औं मिनेटमा गोल गरे। सनिस श्रेष्ठको पास सदुपयोग गर्दै उनले गोल गरेका हुन्। त्यसपछि बाँकी समयमा गोल हुन सकेन र मच्छिन्द्रले साँघुरो जित निकाल्यो। अब मच्छिन्द्रले सेमिफाइनलमा आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रूपैयाँ पाउनेछन्।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रूपैयाँ पाउनेछन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा हरेक खेलको विजेताले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछन्।  

प्रकाशित: १४ फाल्गुन २०८१ ०७:२५ बुधबार

# Nepali Sports # Nagarik