सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा नेपालले आइतबार बलियो म्यानमारलाई बराबरीमा रोक्दै अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि भिडन्त गर्ने भएको छ।
घरेलु मैदानमा जारी चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा आइतबार म्यानमारसँग प्रतिस्पर्धा गर्नुअगाडि नै नेपालले सोही टोलीविरुद्ध उपाधिका लागि खेल्ने तय थियो। यसैले दुवै टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा जित निकाल्दै उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्थे।
म्यानमारले दुई पल्ट अग्रता लिँदै चुनौती पनि दियो। तर, नेपाली खेलाडीले बलियो आत्मबलका साथ खेलेपछि म्यानमारको योजना सफल हुन सकेन। कुल १२ हजार ६ सय २ दर्शकको साथ पाएको नेपाल अन्तत् आफूभन्दा ४८औं स्थानमा माथि रहेको म्यानमारलाई २–२ को बराबरीमा रोक्न सफल भयो।
नेपालको यो नतिजामा स्टार स्ट्राइकर सावित्राले उत्कृष्ट प्रदर्शन गरिन्। एक गोलसँगै उनको नाममा एसिस्ट पनि रह्यो। उनी प्लेअर अफ दी म्याच पनि भइन्। नेपालको अर्को साबिता रानामगरले गरेकी हुन्।
म्यानमारका मयत खिन र मे एचटेट लुले गोल गरे। यी चारै गोल पहिलो हाफमा नै सम्भव भएको हो। दुईपल्ट खेलमा पछि परेको अवस्था नेपालले उल्टाउन सफल भयो। यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा पनि नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो। म्यानमारसँग कुल चार भेटमा नेपालले दुई हार बेहोर्दा दुई बराबरीको नतिजा निकालेको हो।
नेपाल म्यानमारसँग सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा ३–० र सोही प्रतियोगिताको फाइनलमा ३–१ ले पराजित भएको थियो। यसपल्ट भने घरेलु मैदानमा भने नेपाली टोली बलियो मनोबलका साथ खेल्यो। यो नतिजासँगै समान तीन खेलबाट नेपाल र म्यानमारले समान सात अंक नै जोडे। तर, गोल अन्तरका आधारमा म्यानमार विजेता र नेपाल उपविजेता भए। यसअघि दुवै टोलीले किर्गिस्तान र लेबनानलाई हराएका थिए। तेस्रो खेलमा भने दुवै टोली जित निकाल्न सफल भएनन्। त्यसअघि खेलको छैटौं मिनेटमा मयतको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो।
उनले दोस्रो बार च्याप्दै गरेको फ्रिकिक नेपालकी गोलकिपर अञ्जना रानमगरले बचाउन सकिनन्। नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा उनले अवसर पाएकी हुन्। तर, त्यो अग्रता लामो समय भने टिक्न सकेन। पाँच मिनेटपछि नै साबिताको गोलबाट नेपाल खेलमा फर्कियो। सावित्राको क्रसलाई सबिताले वान टचमै पोस्टको दिशा दिइन्। तर, म्यानमारले १६औं मिनेटमा मेको गोलबाट फेरि अग्रता लियो। नेपालकी डिफेन्डर गीता रानाले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मेले उत्कृष्ट गोल गरिन्। सावित्राले ४०औं मिनेटमा गोल गर्दै फेरि नेपाललाई बराबरीमा फर्काइन्।
प्रीति राईको पास सदुपयोग गर्दै उनले गोल गरेकी हुन्। त्यसपछि पहिलो हाफमा थप गोल निस्कन सकेन। दोस्रो हाफमा पनि दुवै तर्फबाट गोलका लागि प्रयास भए। तर, खेल २–२ को बराबरीमा नै सकियो। खेलपछि नेपालका टोलीका प्रशिक्षक राजेन्द्र तामाङले सुरुआत तालमेल नमिल्दा गोल बेहोरे पनि आफ्ना खेलाडी समालिएपछि यो नतिजा प्राप्त भएको बताए।
प्रकाशित: १२ फाल्गुन २०८१ ०६:४३ सोमबार