खेल

सनस्टार कप भलिबल: कर्णाली बाहिरियो, पुलिस र कोशीको शानदार प्रदर्शन

रोल्पा सदरमुकाम लिवाङको टुँडिखेलमा शनिबारदेखि सुरू भएको सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन्।

प्रतियोगिताबाट कर्णाली प्रदेश बाहिरिएको छ। शनिबार त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कर्णालीले आइतबार लुम्बिनी प्रदेशसँग पनि हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो।

आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई हराउँदै जित निकालेको थियो। कोशीले पहिलो सेटमा २५–१९ को अङ्क ल्याउँदै अग्रता लिए पनि त्यसपछि तीन सेट लगातार गुमायो। नेपाल पुलिसले २५–१४, २५–१६ र २५–१५ को फराकिलो अन्तरमा खेल जित्दै उत्कृष्ट प्रदर्शन गर्‍यो।

त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशबीचको खेल चार सेटसम्म लम्बियो। पहिलो सेट लुम्बिनीले २५–१४ को अङ्कले जितेको थियो भने दोस्रो सेटमा कर्णालीले २५–२३ को झिनो अन्तरले जित दर्ता गर्‍यो। तेस्रो र चौथो सेटमा लुम्बिनीले ३४–३२ र २५–१५ को जित निकाल्दै प्रतियोगिताबाट कर्णालीलाई बाहिर पठायो।

अर्को खेलमा आयोजक सनस्टार युवा क्लब रोल्पा र कोशी प्रदेश भिडे। तीनै सेटमा कोशी प्रदेश हावी भयो। उसले २५–१५, २५–१५ र २५–२३ को सोझो जित दर्ता गर्‍यो।

आइतबारको अन्तिम खेलमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई सहजै हरायो। मधेसविरुद्ध पुलिस क्लबले २५–९, २५–१० र २५–११ को फराकिलो अन्तरले जित हासिल गर्‍यो।

शनिबार मधेस प्रदेश आयोजक सनस्टार युवा क्लबसँग सोझो सेटमा पराजित भएको थियो। सनस्टारले मधेसलाई २६–२४, ३१–२९ र २५–१८ को सेटमा हराउँदै विजयी सुरुवात गरेको थियो।

त्यस्तै, शनिबार त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–१ को सेटमा हराएको थियो। पहिलो सेट २५–२३ को अङ्कले कर्णालीले जितेको भए पनि त्यसपछि लगातार तीन सेटमा आर्मीले २५–१६, २५–१७ र २५–१८ को जीत दर्ता गर्‍यो।

प्रतियोगिताको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गरेका थिए। सनस्टार युवा क्लबको १३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार जित्नेछ। द्वितीय हुने टोलीले दुई लाख पचास हजार, तृतीय हुने टोलीले एक लाख तथा सान्त्वना पुरस्कार स्वरूप पचास हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।

प्रकाशित: ११ फाल्गुन २०८१ १९:१८ आइतबार